Culture

 उँधौली चासोक् चाड : साझा धान(नाच) पर्व- -डीबि  आङबुङ 

प्रकृतिमा सेताम्मै पैयुँ फुल्ने याममा धान पाकेर आउने उँभौली चासोक् चाड साझा धान (नाच) पर्व हो । यो चाडलाई मौलिक मान्ने आदिवासी राई, लिम्बू, याक्खा र सुनुवारको त मुख्य चाड हो नै । धानको खेती र धानबाट जीवीका र जीवन चलाउने सबै कृषक तथा मानव सुमुदायको पनि साझा चाड हो ।

यस उँभौली यामलाई चासोक् चाड अर्थात् धानपर्वको रुपमा मान्ने आदिवासी लिम्बूहरूको संस्कार र संस्कृतिसँग यो धान र धान(नाच) पर्वको सांस्कृतिक सम्बन्ध विशेष अर्थ र महत्वको छ । यस अर्थ र महत्वको सम्बन्धलाई राम्ररी पर्गेल्न सक्दा यो सवाल सिङ्गो नेपाली जाति र मानव समुदायकै प्रतिष्ठा र गौरवको विषय पनि बन्न सक्दछ ।

प्रागऐतिहासिक कालसँग सम्बन्ध राख्ने यस्ता सवालहरूको अध्ययन र खोजी पूरातात्त्विक हिसाबले गर्न सकिन्छ । तर, यस हिसाबको अध्ययनका लागि सबै प्रमाणहरू पाउन र पर्गेल्न पनि उत्तिकै गाह्रो काम हो । पूरातात्त्विक उत्खनन् र कार्वन डेडिङ नै गर्ने आधार प्रमाणहरू नपाइने अवस्थामा मानवशास्त्रीय अध्ययनको खाँचो हुन्छ । मानवशास्त्रीय आधारले सांस्कृतिक सम्बन्ध, मान्यता र परम्परामा यस्ता खोजहरू गर्न सकिन्छ । यसका लागि भाषाविज्ञानको आधार अर्को महत्वपूर्ण प्रमाण हो ।

लिम्बूजाति र धानको सम्बन्ध :

आदिवासी लिम्बूजाति र धान खेतीको सम्बन्धमा, विद्वान गुर्देव एस. खुशले प्लान्ट मलेक्युल बाइअलजी जर्नल ३५:२५–३४ (१९९७:२९) मा उल्लेख गरेको एक प्रसङ्ग राख्नु सान्दर्भिक हुन्छ । उनका अनुसार, भाषावैज्ञानिक आधारहरूले पनि एसिया क्षेत्रमा सबैभन्दा पहिले धानको घरेलुखेती सुरुवात भएको देखाउँदछ । यहाँका धेरै स्थानीय भाषाहरूमा प्रयोग हुने व्यवहारिक शब्दहरू धान र खाना वा धान र खेतीकार्यसँग पयार्य(वाची) शब्दहरू छन् ।

लिम्बूजातिमा यस्ता शब्दहरू हेर्दा लिम्बूभाषामा ‘धान’लाई ‘या?’ भनिन्छ । जुनसुकै अन्नलाई ढिकीमा कुट्नुपरे पनि ‘या?हाक्मा’ (धानकुट्नु) नै भनिन्छ । चाहे जुनसुकै अन्नलाई जाँतोमा पिस्नु परे पनि ‘या?युःप्मा’ (धानपिस्नु) नै भनिन्छ । जुनै अन्न बालीमा लाउँदा वा जाँड पकाउन कोदो नै भिजाएर कुट्नलाई ढिकीमा लाउँदा पनि ‘याक्वाकेःप्मा’ (धान लाउनु) नै भनिन्छ । साथै, अन्न भुट्ने पुरानो माटोको भाँडो (हाँडी) लाई पनि ‘खेःक्या?’ (धानभुट्ने) नै भनिन्छ । यसै प्रसङ्गलाई किरात इतिहासका अध्येता कृष्णविक्रम नेम्बाङले उनको कृति ‘आक्षेप र पाठक प्रतिक्रिया’ (२०७२:१५)मा लिम्बु भाषामा ‘धान’लाई ‘या?’ भनिने आधारमा थप स्पष्ट पार्दछन् । उनका अनुसार, लिम्बुका अनेक संस्कृति धानसँग सम्बन्धित छन् । जस्तै, खेतला बोलाउँदा ‘या?लिक्’ ने बोलाउँछन् चाहे जेसुकै काम गर्न परोस् । ‘या?नाम्’ (बिस्कुन) धानकै हुन्छ चाहे त्यो मकै, कोदोकै किन नहोस् । ‘याःन्धा’ (मेलापात) खेती गर्ने, ‘याःम्बक्’ गर्ने काम, जेसुकै भए पनि ‘या?’ धाननै उपसर्ग भएर जोडिन्छ । धानको दाइँ गर्ने ‘या?लाःक्’ बाटै लिम्बुको प्रसिद्ध संस्कृति ‘या?लाःङ्’ (धाननाच) विकसित भएको हो । यसबाट सुदुर अतीतमा धानको खेतीसँगै तिनको संस्कृति निर्माणको प्रारम्भ भएको आभाष पाइन्छ ।

यसरी नै धानसँग लिम्बुजातिको संस्कार–संस्कृतिको सम्बन्धलाई हेर्दा पनि अन्योन्याश्रित देखिन्छ । जब कुनै लिम्बु किशोर किशोरी यौवनावस्थामा पुग्छन्, उनीहरूको शीर उठाउँनी अनुष्ठान ‘माङ्गेन्ना’ गर्नुपर्दछ । यसको अर्थ अब तिमी जवान भयौ । जवानीसँगै अघि बढ्दा जीवनमा अनेक बाधा–व्यवधानहरू आउन सक्छन् । आँखीडाही लाग्न सक्छ र उँचो रहिरहनु पर्ने शीर ढल्न पनि सक्छ । यस्तो नहोस् भन्नका लागि माङ्गेन्ना अनुष्ठान गर्दा आठ मुठी वा एकमाना धानको चामल चाहिन्छ । त्यो शीर उठाउने अन्न हो । त्यो अन्न सो उपकारी व्यक्तिले नै पकाएर खानुपर्दछ । भविष्यको यात्रामा अघि बढ्दा आफ्नो इतिहास र पहिचान पनि थाहा हुनुपर्छ । यसका लागि माङ्गेन्ना अनुष्ठान गर्दा नीजको परिवारको ऐतिहासिक गाथा नै सुनाइन्छ । यसबेला अनुष्ठानकर्ता पुजारीका साथ चेली माइतिको उपस्थिति विशेष महत्वको हुन्छ ।

लिम्बुजातिले अरुबेला नभए पनि विवाहको बेला भने बेहुला बेहुलीलई धानको चामलसहितको दियो कलश, लाउने टीका र पर्सिने अक्षता अनिवार्य हुन्छ । यसका साथै, लिम्बुजातिमा आशीर्वाद दिने र लिने विशेष परम्परा छ । यसमा धानको चामल अनिवार्य चाहिन्छ । आशीर्वाद दिनु वा लिनु भन्नु नै धान चामलको अक्षता र फूलको पत्रहरू दिनुलिनु हो ।

लिम्बू किशोर किशोरीहरूको विवाहपछि उनीहरूको विशेष जिम्मेवारी बढ्दछ वा छुट्दछ । त्यसैले पुरुषले नाहाङ्मा अनुष्ठान गर्दछन् । महिलाले पिचम्मा लगायतका देवताहरू माइतबाट कर्मघरमै लिएर जानुपर्दछ । अर्थात् छोरीमान्छे जहाँ जान्छन् उनका पुख्र्यौली देवताहरूले पनि त्यतै पछ्याएर लान्छन् । यसर्थ, चेली वा महिलाहरूलाई सबैको संरक्षक ‘माङ्गेन्ना÷चेली’ पनि भन्ने गरिन्छ । पुरुषले आफ्नो विशेष पारिवारिक जिम्मेवारी ग्रहण गर्न वा छुट्याई लिन होस् वा चेलीले आफ्ना कुल देवताहरू लिएर गई पुज्नलाई होस् त्यहाँ अनिवार्य धानको चामल नै चाहिन्छ ।

लिम्बू लगायत सायद धेरै अरुको पनि मृत्यु हुँदा मृतको लाशसँगै एकमाना चामल पोकोपारी दिइपठाउनु पर्दछ । त्यो बाटोको खाना हो । साथै, लाशलाई सागर वा चिहानघारीमा लैजाँदा मूलबाटोको विशेष ठाउँ दोबाटो या चौबाटोहरूमा भुटेको धान ‘या?बोन्’ वा ‘या?दोमुरा’ ठाउँठाउँमा छर्दै राख्दै जानुपर्दछ । यसले मृतकको आत्मालाई बाटो दिने हो । मृतकलाई पिण्ड चढाउँदा पनि धान चामलकै भात चढाउने हो । यसर्थ, धान चामलविना लिम्बुजाति लगायतको मृत्युकर्म पनि अधुरो नै हुन्छ ।

याक्थुङ मुन्धुम्का अध्येता बैरागी काइँलाले उनको कृति ‘तङ्सिङ् तक्मा मुन्धुम् : आख्यान र अनुष्ठान’ (२०५२:२८) मा उल्लेख गरेअनुसार, लिम्बूजातिले गर्ने विशेष अनुष्ठान ‘तङ्सिङ्’ गर्दा पनि अन्न (धान) कुट्ने मुन्धुम् आउँछ । यसबेला धानकुटेको अनुकरण गर्नुपर्दछ । यसरी यस विधिबाट तयार भएको चामल भरेर देवताको भात पकाउने भनी चामल एउटा भाँडामा हाली कपडाले पोको पारेर लिङ्गोको टुप्पामा भएको एचेदिम्मा झुण्ड्याइन्छ ।
यसरी लिम्बूजातिको हकमा कुनै एक व्यक्ति जन्मनुपूर्व कोखमै रहेको अवस्थादेखि मृत्युपछि अन्तिम संस्कार गर्दा पनि धान चामलको अक्षता, चिउरा र भात नै चाहिन्छ ।

चासोक् चाड : 

लिम्बुजातिले विशेष ३ वटा न्वागी (सोक्)हरू गर्दछन् । यसमा तक्सोक् (अन्न/खानाको न्वागी), थिसोक् (पानी/ जाँडको न्वागी) र फाक्सोक् (पशु/सुङ्गुरको न्वागी) पर्दछन् । यिनीहरू सबै खानेकुरासँगै सम्बद्ध हुने भएकाले समग्रमा यी सबैको न्वागीलाई नै ‘चासोक्’ भनिन्छ ।

 

चासोक् चाड प्रकृतिमा पैयुँ फुलेको बेला वा धान पाकेको याम्मा पर्दछ । अहिलेको जस्तो तिथि मितिको गणना गर्ने आधार पात्रो नभएको अवस्थमा पुर्खाहरूले यिनै प्रकृतिमा फुल्ने वा पाक्ने फलफूल र अन्न तथा हिउँद–वर्षा, जाडो–गर्मी वा पशुपंक्षीको क्रियाकलाप र आकाशमा देखिने जूनताराको गति तथा आकारको आधारमा समयको गणना वा निर्धारण गर्नेगर्दथे । पहिले गाउँघरमा गाउँका स्थानीय परम्परागत सामाजिक संस्था सावा येत्हाङ चुम्लुङ तथा भद्रपुरुषगण तुत्तुगेन् तुम्म्याहाङ र भद्रमहिलागण याक्लागेन् सुहाङ्माहरूको सामूहिक सल्लाहले यस्ता पर्वहरू मान्ने मिति र समयको निर्धारण गर्ने गर्दथे । यसर्थ, सबै गाउँठाउँमा एकै दिन र एकै समयमा यी चाड मान्ने दिनहरू नपर्न पनि सक्दथे । लेक आउल, तराई पहाड र हिमालको स्थानीय मौसम अनुसार यी पर्व मान्ने दिनहरू केही तलमाथि पनि हुने गर्दथ्यो । तर, अहिले राज्यको नीति तथा अन्य धेरै कुरा र कारणले सम्बद्ध जाति वा समुदाय सबैले एकै दिन र अवसरमा यस्ता चाडबाडहरू मनाउँदा सामूहिकताको भावना विकास गर्नमा सहजता हुने भएकोले अहिले आएर यस चासोक चाडलाई उँधौली मङ्सिरे पूर्णिमाको अवसरमा मान्नु पर्ने आधुनिक संस्थागत निर्णय भएको छ ।

चासोक तङ्नाम तथा धान (नाच) को मुन्धुम् :

मानवशास्त्रीय, पुरातात्त्विक तथा वैज्ञानिक अध्ययनको आधारमा पनि दक्षिणपूर्वी एसिया तथा दक्षिणपूर्वी चीन, जापान, थाइल्याण्ड, मलेशिया, भारत र नेपाल हिमालयको सेरोफेरोबाटै धानको पहिचान र खेती भई अन्य मुलुकमा प्रसार भएको पाइन्छ । विद्वानहरू डी. क्यू. फुलर लगायत (सन् २०१०) ले धानको पुरातात्त्विक इतिहासको बारेमा गरेको अध्ययन अनुसार प्रागइतिहासमा यसको खेती दक्षिणपूर्वी चीनको याङ्जे नदी क्षेत्रमा पाँचदेखि ६ हजार वर्ष पहिले भएको मानिन्छ । धानको प्रगऐतिहासिक उत्पत्ति तथा खेती क्षेत्र र तिनका नामहरू पनि लिम्बुभाषामा धानलाई भनिने नाम ‘या?’ सँगै मिल्दोजुल्दो पाइन्छन् । जस्तै, याङ्जे, याङ्साओ, यिलाउ, यायोइ, र युनान आदि । यसबारे थप अध्ययन आवश्यक हुन्छ ।

धान र यसको उत्पत्ति तथा उपयोगको बारेमा यस क्षेत्रका विभिन्न आदिवासीहरूमा आ–आफ्नै किसिममा मिथक (मुन्धुम)हरू पनि भएको पाइन्छ । यसमध्ये, सिचुआन चीनका आदिवासी मिआओ जातिको मिथक (Taryo, ? ) र लिम्बू जातिमा प्रचलित धानको बीउ चराले ल्याइदिएको एउटा मुन्धुम मिल्दोजुल्दो छ । ती मियाउ जातिका पुर्खाहरूले आफ्नो खेतबारीमा छर्ने उचित बीउ नपाएपछि त्यसको खोजीमा एउटा हरियो चरालाई उडाई पठाए । त्यो चरा स्वर्गमा भएको बीउहुने देवतासँग धानको बीउ मागी लिएर फर्क्यो । यता लिम्बुजातिको सन्दर्भमा इतिहास तथा लोककथाकार शिवकुमार श्रेष्ठले किराती लोककथा सङ्गालो (२०५१:१) मा उल्लेख गरे अनुसार, लिम्बुजातिको पुर्खाहरूको दुःखलाई देखेर ‘फेल्येरे फेम्पुना’ नामक चराले धान पाकेपछि पहिले आफूहरूले खान पाउनु पर्ने सर्तगरी कतै उडिगएर घैया?धान र ताक्मारे धानका बीउहरू लिएर आयो । त्यस चराले लिम्बू किरातहरूलाई ती बीउहरू जिम्मा दिएर खेतीपाती गर्ने तरिका पनि सिकाई राखे । पछि धान पाक्यो । पहिलेको सर्तानुसार पाकेको धान सबै ती चराहरूले हुलका हुल आएर खाइदिन थाले । तीनै चरालाई हा…हा… भन्दै खेदाउन एकापसमा हात समाएर धान माड्दै सामूहिक रुपमा नाच्न थाले । यसैक्रम्मा धाननाच र पालाम (गीत)को सुरुवात भयो ।

चासोक् मुन्धुमबारे मुन्धुम्विद् दुर्गाप्रसाद फोपाहाङद्वारा सङ्कलित तथा मञ्जुल याक्थुम्बाबाट सम्पादित ‘मुन्धुम र मिथकहरू’(२०७०:१५२) मा उल्लेख भएअनुसार, तिबक्को तिअन्लामाङ्का तीन छोरादेवहरू फयङ्गेहाङ, तङ्हाङ र पेनहाङ थिए । तिनलाई पृथ्वीतलमा गएर मानवजातिलाई अन्नको बीउबीजन झारी दिन आदेश दिए । बिहान झुल्के घाममा पूर्वदिशातिर कुनै रुखमा अन्नका बीउका झुप्पाहरू झुण्डिरहेको देखे । त्यसलाई धनुकाँडको भाटाले फेयङ्गेहाङले हिर्काए । हिर्काउँदा बीउका झुप्पाहरू उच्छिटिएर आठभाग दक्षिण र नौ भाग उत्तरतिर गए । बीचमा साङ्घामा लिङ्घामा र ताक्मारु घैयाधान मात्र रह्यो । त्यसलाई बटुलबाटुल गरी तङ्हाङले सावायेत्हाङ पाङ्भे (याक्थुङ गाउँ) मा आउँदा सावा येत्हाङ्हरूका एउटी पाकी ढाड नुहिएकी चेली सिबेरा याक्थुङ्मा (एःक्थुक्किना?) याभुङ्गे्रक्माले खोरिया फाँडेर आगो लगाई भस्मे माटो बनाई राखेको ठाउँमा ती बीउ लिएर आउने देवताहरू आइपुगे । अन्नका बीउहरू ती महिलालाई दिई ती देवताहरू तिबक्को तिअन्ला तेम्बेमा फर्केर गए ।

अब काठको अङ्कुसको सिङ्काःङ् (कोदालो) बनाई ती महिलाले बीउ छरपोख गरिन् । सो उम्रेको बीउबाट फलेका अन्न आफ्ना माइतिहरू दाजुभाइ सबैलाई बाँडिदिइन् । अब सबैले भस्मे फाँडी सो अन्न उमार्न थाले । ती माइतिहरूले पनि आफूले उब्जाएको अन्न खानुअघि तिनै चेली सिबेरा याक्थुङ्मा याभुङ्ग्रेक्मा र बीउबीजन दिने देवता लगायत कुल देवताहरूलाई चढाएर मात्र खान थाले । सावा येत्हाङ् (याक्थुङ)हरूमा चासोक् तङ्नाम चाडको थालनी यसरी भयो ।

चासो:कमा पुजिने देवीदेवता माङ्साम्माङ्हरू :

चसोक् अनुष्ठान घरभित्र र बाहिर कुनै डाँडा पाखामा गरी दुई प्रकारले गर्ने गरिन्छ । यो अनुष्ठान येहाङ्को आठ मुन्धुम अनुसार गृहस्थीसम्बन्धी सेवा पुजाहरू गर्ने फेदाङ्माले सम्पन्न गर्दछन् । व्यवहारमा यो अनुष्ठान पहिले आफ्नो धानबाली पाकेको बेला पारिवारिक रुपमा घरमै र अलिक पछि विशेष अवसर पारेर गाउँमा सामूहिक रुपमा पनि गर्ने गरिन्छ । यस सामूहिक रुप्मा गर्ने चासोक् पूजा हाल आएर उँधौलीको यामपारी मङ्सिरे पूर्णिको दिनमा देश–विदेशमा मान्ने मनाउने गरिन्छ ।

यस चासोक् अनुष्ठानको अवसरलाई एक चाडकै रुपमा मान्ने प्रचलन बढिरहेको छ । यो अनुष्ठान गर्दा पुजिने देवाता(माङ्, साम्माङ, च्याःङ्)हरूमा युमासाम्माङ (तागेरा निङ्वाभुमाङ्को प्रतिनिधि मुख्य इष्टदेवी/बुढीबोजु देवता), थेबा साम्माङ (मुख्य इष्टदेव तथा बुढोबाजे देवता), मिसेक् साम्माङ् (आगो देवता), कुइकुदाप्/ताप्फेःङ्/ताम्भुङ्ना (वनजङ्गलका देवताहरू), तक्सङ्बा (लेकको शिकारी देवता), सिरिङ्मा वा मुदेन्हाङ्मा (उत्तरबाट याक्थुङ गाउँमामा प्रवेश गरेकी देवी), तेन्छामा (दक्षिणबाट याक्थुङ गाउँमा आएकी देवी), खन्ज?मा (उत्तर–दक्षिण घुमिहिँड्ने देवी), वज?मा (शक्ति प्रदान गर्ने गुरुदेवी), वरक्मा वा वारक्मा (जलदेव), थुङ्दाङ्बा (सूर्य देवता), कासिहाङ्मा (युमा साम्माङ्की सहयोगी देवी) र काप्पोबा हिम्साम्माङ (घरको रक्षागर्ने बुढो देवता) आदि हुन् ।

यी सबै देवी देवताहरूलाई नयाँ अन्नबाली फलाउन सहयोग गरेकोमा उनीहरूको गुनलाई सम्झँदै र सम्मान गर्दै पहिले पाकेको अन्न उनीहरूलाई नैचढाउने अनुष्ठान हो चासोक् सेवा । यिनका साथै, कृषि कार्यमा उपयोग गरिएका सबै सामग्रीहरू हलोजुवा, कुटेकोदालो र हसिँयालाई पनि नयाँ पाकेको अन्न धान चामलको भात टाँसेर वा पर्सेर चढाउने परम्परा छ । यसका साथै, घरको चुलाको आगो, मूल खम्बा र मूल ढोकामा पनि पाकेको अन्नको भात चढाउने गरिन्छ ।

चासोक् चाडको अवसरमा लिम्बूजातिले आफ्नो सामेहिक मिलोमतो वा एकताको अनुष्ठान तङ्सिङ् पनि गर्ने प्रचलन छ । साथै, एकापसमा भएका ननाम्रा कुरारुलाई पखालेर बगाई पठाउने मौलिक अनुष्ठान माङ्हुप माङ्दे वा साक्मुरालुङ्हि गालीश्राप् बगाउने प्रचलन पनि छ । यसबारे विस्तृतमा भिन्नै चर्चा गर्नुपर्दछ ।

चासोक चाडका चुनौती र निष्कर्ष :

कुनै पनि चाडसँग सम्बद्ध जाति वा समुदायले मनाउने अनुष्ठानिक संस्कारहरू हुन आवश्यक हुन्छ । अनुष्ठानिक संस्कारहरू नभएको चाडले भित्रितहसम्म प्रभाव पार्न सक्दैन । चासोक् चाडसँग पनि घरमा पारिवारिक रुपमा र साझा ठाउँमा सामूहिक रुपमा सम्पन्न गर्नुपर्ने अनुष्ठानिक संस्कारहरू छन् । घरपरिवारभित्रको कार्यक्रम त परिवारले नै इच्छा अनुसार गर्ने हो । तर, यसलाई सम्पन्न गर्ने विधि विधानहरू भने साझा र सामूहिक तवरको हुनसक्दा अझ राम्रो हुन्छ । घरबाहिर सार्वजनिक ठाउँ कुनै डाँडापाखा वा चुम्लुङ्हिम र माङ्हिम क्षेत्रहरूमा गरिने अनुष्ठानिक संस्कारका कार्यक्रमहरूमा भने साझा अवधारणा र विधि विधानरु तय हुन आवश्यक हुन्छ ।

लिम्बुजातिको सन्दर्भमा विभिन्न कारणले गर्दा चासोक् अनुष्ठानलाई मुन्धुम् विधि पुर्याएर सम्पन्न गर्नसक्ने फेदाङ्मा (पुजारी)हरूको अभाव खड्किँदै गएको छ । आवश्यक मुन्धुम र विधि विधान नपुर्याईकन गरिने यस्ता अनुष्ठानिक कार्यक्रमहरूले त्यस परिवार, समाज र जातिलाई संस्कारगत रुपमा दिनुपर्ने शिक्षाका प्रभावहरू नपुर्याउन सक्दछ । यसपछि, त्यस अनुष्ठान र चाडप्रति सम्बद्ध जातिकै चासो र आस्था घट्दैजाने पनि हुन्छ । यसमा सम्बद्ध जातिका सबै व्यक्ति, अध्येता; सामाजिक/सांस्कृतिक/धार्मिक वा जातीय संस्थाहरूले बेलैमा ध्यान पुर्याएर उचित मार्गप्रदर्शन गर्न वा सही विकल्प दिँदै जान आवश्यक हुन्छ ।

गाउँमा परापूर्वकालदेखि परम्परागत रुपमा रहेका सावा येत्हाङ चुम्लुङ तथा तुत्तुगेन् तुम्म्याहाङ र याक्लागेन् सुहाङ्मा जस्ता सामाजिक संस्थाहरू दिनानुदिन कमजोर भई प्रायः लोप नै हुने अवस्थामा छन् । साथै, फेदाङ्मा, येबा/येमा र साम्बा लगायतका संस्था र यसका सञ्चालहरू पनि क्रमशः कमजोर र लोप हुने अवस्थामा छन् । यी नेतृत्वहरू र संस्थाहरू लोप हुनु भनेको त्यससँग सम्बद्ध जातिको पहिचान मेटिनु हो । यसका लागि परम्परागत संस्थाका जगमा उभिएका आधुनिक सामाजिक तथा जातीय संघ–संस्थाहरूले बेलैमा ध्यान पुर्याएर उचित अध्ययन, अनुसन्धान गरी सही विकल्पहरू दिँदै जानु नितान्त आवश्यक छ ।

सम्बद्ध जातिले कति सङ्घर्ष गर्दामात्र राज्यबाट पाएको एकदिने सरकारी विदाले उँधौली चासोक् चाडलाई मनाउने आधारभूत वातावरण सिर्जना गर्दैन । आधुनिक पात्रो अनुसार चल्नुपर्दा धानपाके लगत्तै मङ्सिरमा मनाउनु पर्ने चासोक् चाड पुसको जाडोमा पर्दछ । यसले सम्बद्ध जाति र धानको बालीसँगको सम्बद्धलाई संयोजन गर्न सक्दैन । लेक–आउल तथा पहाड र तराईमा धानपाक्ने याम् फरक पर्न जान्छ । गाउँमा त धान पाक्ला शहरमा धानको खेती हुँदैन । तर फेरि पनि मुख्य चाड सबैले एकै समयमा मान्नु पर्नेचाहिँ हुन्छ । यी चुनौतीहरूलाई कसरी सहज गर्ने होला ? त्यसतर्फ पनि हामी सबैको बेलैमा ध्यान जान र उचित समाधान खोज्न आवश्यक देखिन्छ ।

अन्तमा, यो चासोक् चाड साझा धानपर्व पनि भएकोले यसलाई सबै नेपालीहरूले सामूहिक धानवर्पको रुपमा मान्ने वातावरण बनाउन राज्य र सम्बद्ध समुदायबाट पनि पहल हुन आवश्यक देखिन्छ । नेपाल दिनप्रतिदिन धानखेतीबाट पनि आत्मनिर्भर हुननसक्ने अवस्थामा पुग्दैछ । स्वदेशमै वेरोजगारीको समस्यमाका कारण गाउँघदेखि, शहरबजार सबै ठाउँमा उर्जाशील युवायुवती शक्तिहरू विदेशिनु बाध्य छन् । यसप्रति राज्यले सही नीति तय गरी कदम चाल्न सकेको छैन । अरु धेरै कलकारखाना र उद्योगधन्दाहरूको विकास हुननसकेको हाम्रो मुलुकमा कृषिबालीले पनि धान्न नसक्ने अवस्थामा पुग्दा हाम्रो हालत झन जर्जर हुनेछ । यो चासोक् चाडले त्यसप्रति सम्बद्ध सबैपक्षको ध्यानआकृष्ट गर्नसके हुन्थ्यो ।

यो चासोक् चाड लिम्बुजातिको सन्दर्भमा भने धाननाच पर्व पनि हो । धाननाच लिम्बू जातिको कृषिजीवनसँग सम्बद्ध गाथा पनि हो । आधुनिकताको प्रभावले धाननाच पनि लोपहुने अवस्थातर्फ उन्मुख हुँदैछ । चासोक् चाडको अवसरमा धाननाच उत्सवहरू आयोजना गरी यसको अर्थ र महत्वलाई प्रत्यक्षरुपमा बुझ्न र बुझाउनु पनि अहिलेको आवश्यकता हो । धाननाचमा प्रेमी र प्रेमिकाहरूले माया पिरतीको डोरोमा उनिएर सारा जीवन र जगतलाई परिभाषित गरी एउटा जीवनको सार्थक उचाई चोःत्लुङ्मा पुग्न खोजेजस्तो यस चासोक् चाडलाई पनि सबै कोणबाट अर्थ र परिभाषा लगाउँदै हाम्रो समाज र समुदायलाई सही मार्गदर्शन गराउने बाटोतर्फ उन्मुख गराउन आ–आफ्नो ठाउँबाट सबैले कोसिस गर्ने होला । यसका लागि सबैले सामूहिकतामा साझा धाननाच नाच्ने कोसिस गरौं ।

सन्दर्भग्रन्थ सूची :
काइँला, बैरागी । २०५२ । तङ्सिङ तक्मा मुन्धुम् : आख्यान र अनुष्ठान । काठमाडौं : नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान ।

नेम्बाङ, कृष्णविक्रम । २०७२ । ‘टिपनटापन’का ‘थाक्से’ लिम्बूहरू । आक्षेप र पाठक प्रतिक्रिया । लिम्बुवान : भिमकुमारी लिम्बु ।
याक्थुम्बा, मञ्जुल सम्पा., दुर्गा प्र. फोपाहाङ सङ्क. । २०७० । चासोक् थिसोक् मुन्धुम् । मुन्धुम् र मिथकहरू । ललितपुर: मञ्जुल फोम्बो याक्थुम्बा ।
श्रेष्ठ, शिवकुमार । २०५१ । धाननाचको उत्पत्ति । किराँची लोककथा सँगालो । धनकुटाः श्रीमती गंगादेवी श्रेष्ठ ।
Fuller, D.Q. et al. 2010. Consilience of genetics and archeobatoany in the entangled history of rice. UK: Institute of Archeology, University College London
Khush, Gurdev S. 1997. Origin, dispersal, cultivation and variation of rice. Plant Molecular Biology 35:25-34. Belgium: Kuwer Academic Publishers.
Taryo, Obayashi. ? . Rice in Myth and Legend. Magazine Article UNESCO Courier: https://www.questia.com/…/1G1-35406…/rice-in-myth-and-legendAccessed on 22 Dec. 2015

 

© 2005-2017 pslimboo.com.np | All Rights Reserved