Ghazal Literature News
सिसिफस जीवन सार्वजनिक
December 26, 2016
0
,

काठमाडौं । प्रवासी भूमिमा सक्रिय यूवा गजलकार निश्चल (पि एस लिम्बू) को ‘सिसिफस जीवन’ नामक गजल संग्रह सार्वजनिक भएको छ ।नेपाल प्रज्ञाप्रतिष्ठानका उपकूलपति डा. विष्णु विभु घिमिरेको प्रमुख आतिथ्यतामा राजधानीको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा शुक्रबार सम्पन्न उक्त गजल संग्रह लोकर्पण कार्यक्रम  विश्व नेपाली साहित्य महासंघको आयोजनामा भएको हो । वरिष्ठ सञ्चारकर्मी तथा कवि कलाकार रमेश पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सांसद मोहम्मद जाकिर हुसैन, सार्क सचिवालयका महासचिव तथ यूएईका लागि पूर्व राजदूत अर्जुन बहादुर थापा, वरिष्ठ गजलकार ज्ञानुवाकार पौडेल, वरिष्ठ गजलकार डा. घनश्याम न्यौपाने परिश्रमी, गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष रामेश्वर शाह विशेष अतिथिको रुपमा रहनु भएको थियो । संग्रहको लोकार्पण पश्चात् शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि घिमिरेले विदेशी भूमिमा अहोरात्र काममा खटिनुपर्ने अवस्थाबाट समेत समय निकालेर नेपाली भाषा साहित्यको विकासमा लागेकोमा प्रसंसा गर्दै नेपालीहरु संसारको जुनसुकै कुनामा पुग्दा पनि आफ्नो भाषा, भेषभुषा, साहित्य, कला र संस्कृति पनि सँगै लिएर गएको बताउँदै उहाँले अन्तराष्ट्रिय साहित्य समाज र विश्व नेपाली साहित्य महासंघले प्रवासमा नेपाली साहित्य र संस्कृतिको विकासमा योगदान पुर्याउनुका साथै प्रवासमा रचना गरिएका विविध कविता, गीत, गजल, कथाहरु र अन्य र्सिजना लगायतका साहित्यिक सिर्जनामा देशको झल्को पाइने गरेको बताउनु भयो ।

त्यसैगरी उक्त लोकार्पण कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि यूएईका लागि पूर्व राजदूत एवं वर्तमान सार्क महासचिव अर्जुन बहादुर थापाले खाडीमा रहेका नेपालीहरुले ५० डिग्रीको प्रचण्ड गर्मीमा रहेर काम गर्दा पनि आफ्नो उत्साह र सिर्जनालाई नमारेर नेपाली साहित्य सिर्जनमा लागेको बताउदै गजलकार पिएस लिम्बु यूएईको नेपाली समाजमा सक्रिय भूमिका निभाउने सामाजिक एवं साहित्यिक व्यक्तित्व भएको स्मरण गराउनु भयो ।

त्यसैगरी यूएईको नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व एवं सांसद मोहम्मद जाकिर हुसैनले गजलकार निश्चल  पिएस लिम्बु व्यवसायी, बौद्धिक व्यक्तित्व र युवा साहित्यकार रहेको बताउँदै लिम्बुको गजल संग्रहमा धेरै त्रुटिहरु रहेता पनि उनमा गजल सिर्जनका थुप्रै खुबीहरु समेत उजागर भएको बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले निश्चलको गजलसंग्रहलाई नियाल्दा प्रवासी भूमिको उत्कृष्ठ सिर्जनाको रुपमा आफूले पाएको बताउँदै अबको समय गजल साहित्यमा उत्कृष्ट गजल लेख्नका लागि फलामको चिउरा चपाए सरी हुने औंल्याउँदै अबका पाठक आफै सचेत भएकोले अब राम्रो मात्रै होइन उत्कृष्ट गजल लेखनमा लाग्नुपर्ने बताउनु भयो । साथै उहाँले यस संग्रहका माध्यमबाट यूएई मात्र होइन त्यस वरपरका देशहरुमा बस्ने नेपाली गजलकार तथा कविहरुले यस किसिमको गजल लेख्नुपर्ने रहेछ भन्ने सचेतना जाग्ने बताउनु भयो ।उक्त कार्यक्रममा वरिष्ठ गजलकार डा. घनश्याम न्यौपाने परिश्रमीले गजलको उत्पत्ती, विकास र वर्तमान अवस्थाका बारेमा बताउँदै विमोचित संग्रह सिसिफस जीवनमाथि टिप्पणी गर्नु भएको थियो । त्यसैगरी गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष शाहले यूएई बसाइको आफ्नो अनुभव र त्यहाँबाट मौलाएको साहित्यको चर्चा गर्दै गजलकार निश्चललाई शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रवासी नेपाली पत्रकार संजालका सचिव एवं नेपाल पत्रकार महासंघ यूएई शाखाका संस्थापक संयोजक दामोदर नेपालले युएइमा नेपाली साहित्यको विजारोपणदेखि  वर्तमान अवस्थासम्म आईपुग्दा मौलाएको नेपाली साहित्यका बारेमा संक्षिप्त रुपमा प्रकाश पार्दै गजलकार निश्चलको साहित्यिक यात्राको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

यूएईको दुबई र नेपालमा एकै दिन एकै समयमा सार्वजनिक गरिएको उक्त गजल संग्रह लोकार्पण कार्यक्रमको सञ्चालन पत्रकार जेपी सापकोटाले गर्नु भएको थियो भने स्वागत मन्तव्य विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष एवं पत्रकार सागर श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा सिसिफस जीवन गजल संग्रहबाट गजलकार हरि मानन्धर र कवियत्री राधा कार्कीले गजल बाचन गर्नु भएको थियो ।

गजल संग्रह लोकार्पण कार्यक्रमको अन्त्यमा विश्व नेपाली साहित्य महासंघ साउदी अरब शाखा र इजरायल शाखाले भानुजयन्तीको अवसरमा आयोजना गरेको विश्वव्यापी खुल्ला अनलाइन मुक्तक प्रतियोगीताका विजयी स्रष्टालाई पुरस्कार वितरण गरिएको थियो ।

साभार: www.nepaldubai.com

Ghazal Literature News
हार्दिक निमन्त्रणा
December 13, 2016
0

Invitation

 

विश्व नेपाली साहित्य महासंघद्वारा प्रकाशित मेरो गजल संग्रह ” सिसिफस जीवन ” को लोकार्पण निम्नानुसार हुने तय भएकोहुदा, उक्त समारोहमा यहाँहरुको उपस्थितिको अपेक्षा गरेको छु । यहाँहरुको उपस्थितिले मलाई हौसला र प्रेरणा मिल्ने विश्वाश लिएकोछु ।

 

 

***कार्यक्रम***
मिति : २०७३ पुस १ गते, शुक्रबार
स्थान : नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी- काठमाण्डौ
समय : दिउसो ठिक २: ०० बजे

हार्दिक नमन !

निश्चल, पिएस लिम्बू

______________

आयोजक
विश्व नेपाली साहित्य महासंघ

Ghazal Literature News
‘सिसिफस जीवन’ गजल संग्रह प्रकाशन
December 1, 2016
0
,

‘सिसिफस जीवन’ गजल संग्रह प्रकाशन

आफूलाई मन पर्ने वा माया गर्ने व्यक्तिप्रतिको श्रृङ्गार रसका अभिव्यक्ति वा सौन्दर्यको  प्रसंशा गर्न रचना गरिने अरबी साहित्य, प्रणय कविताको विधामा सुरुवात भई फारसी, उर्दू,  हिन्दी हुँदैकवि मोतीराम भट्टको समयदेखि नेपालमा भित्रिएको एक काव्य विधा हो गजल ।

Sisyphus Jeevan, A collection of Ghazals by Nishchal.

Sisyphus Jeevan, A collection of Ghazals by Nishchal.

मेरो बुझाइमा जीवन भोगाइ र बुझाइका अनुभूतिहरुलाई कोमल, हार्दिक र कलात्मक रूपमा अभिव्यक्ति गरिने काव्यिक विधा नै गजल हो । गजल, गीत र कविता एउटै होइन । सवैका आ–आफ्नै परिधी र संरचनाहरु छन् । गजलमा कहिलेदेखि कलम चलाउन थालें यकिन तथ्याङ्क त छैन तर जगजीत सिंहका हिन्दी गजलहरु पहिलेदेखि नै सुन्ने गर्थें । बिस्तारै नेपाली गजलहरु सुन्दै, पढ्दै सन् १९९९ देखि फाट्टफुट्ट गजल विधामा कलम चलाउने र साहित्यिक माहौलमा वाचनको थालनी गरेको मेरो मानसपटलमा छ । सुनसरी जिल्लाका दुई दैनिक पत्रिका ब्लाष्ट टाईम्स् र विज्ञापनमा केही फुटकर गजल र गीतहरु छपाएको थिएँ ।  नेपाली साहित्य परिषद्, यूएईको स्थापना र संस्थापक महासचिवको जिम्मेवारीसँगसँगै मेरो गजल लेखनमा तिव्रता बढ्यो । परिषद्को कार्यक्षेत्र यूएईमा मात्र सीमित नराखी नेपाल–यूएईका साहित्यिक सर्जकहरुलाई जोड्न सेतुको काम गर्ने अभिप्रायले रंगवादी कवि समदर्शी काइँलाको सभापतित्वमा नेपाल र यूएईमा बसोवास गर्ने नेपाली सर्जकहरुको संग्लग्नता गराई नेपाल–यूएई साहित्य परिषद्, यूएईको स्थापना गर्यौं । उक्त संस्थामार्फत् कवि समदर्शी काइँलाको “मान्छेको आत्महत्याको जग्गा” (कविता संग्रह), कवि तथा गजलगो उमेश राई ‘घायल’ को “अभिप्सा इन्द्रेणीको” (गजल संग्रह) तथा गजलगो पवन घर्तीमगरको “मरुभूमिका रहरहरू” (गजल संग्रह) जस्ता महत्वपूर्ण साहित्यिक कृतिहरु प्रकाशन गर्ने काम गर्यौं ।

यूएईमा अस्तित्वमा रहेका सबै नेपाली साहित्यिक संस्थाहरुलाई एकीकरण गरी एक सशक्त साहित्यिक संस्थाको विकास गर्न म स्वयं, जैकी मोजाहु (जाकिर हुसैन), दलबीरसिंह बराइली ‘घायल’ र खेमनाथ पौडेलको एउटा समूहले विभिन्न साहित्यिक संघ–संस्थाका पदाधिकारीहरुसँग पटक पटक छलफल गर्यौं । सन् २०१० मा कवि समदर्शी काँइलाको अध्यक्षतामा अन्तर्राष्ट्रिय साहित्य समाज यूएई च्याप्टरको नाममा एकीकरण भयो । यूएईमा नेपाली साहित्यको जगेर्नामा यो एउटा महान् कदम थियो । मेरो जानकारीमा आएसम्म यूएईमा नेपाली भाषा–साहित्यको इतिहासमा प्रथम पत्रिका हस्तलिखित ‘आकृति अर्धवार्षिक’ हो जुन त्यस बेलाका जुझारु सर्जकहरु प्रकाश थाम्सुहाङ, तारा बलाल ‘स्टार’, लेक योञ्जन र इन्द्र लावती लगायतकाले सुरुवात गरेका थिए । त्यसपछि हिमअरब, परदेश, हाम्रो प्रतिध्वनी (म स्वयंको सम्पादनमा), सहयात्रा आदि पत्रिकाहरुले धेरै सर्जकहरुलाई लेख्ने अवसर प्रदान गर्यो । प्रवासमा नेपाली साहित्यले संयुक्त अरब इमिरेट्स (यूएई) मा निकै राम्रो स्थान बनाएको थियो र अझ निरन्तता छ । नेपाली भाषा–साहित्यको विकासको क्रममा ‘आकृति’ देखि ‘सिसिफस जीवन’ सम्म आइपुग्दा यूएईमा अनगिन्ती कविता, गीत, गजल र कथा संग्रहहरु प्रकाशन भएका छन् ।

आफ्नो अमूल्य समय निकाली, समीक्षात्मक भूमिका लेखिदिनु हुने, प्राध्यापक डा. कृष्णहरी बराल, गजल संग्रह निकाल्न सदैव हुटहुटि तथा सल्लाह–सुझाव दिने मेरा अनन्य मित्रहरु रंगवादी कवि समदर्शी काइँला तथा सोनिया, मलाई ५० को दशकदेखि हौसला र सरसल्लाह दिइरहनुहुने गीतकार, गजलकार तथा कवयित्री दिदी प्रभा आचार्य, उत्साह दिने मित्र जैकी मोजाहु (जाकिर हुसैन), शुभेच्छुक सहयोगी भाइ प्रथम नेपाली तारा दीपक लिम्बू, बहिनी मीना सिङ्गक र अत्यन्तै छोटो समयमा सुन्दर आवरण तयार पारिदिनुहुने मित्र रमेश पौडेललाई हार्दिक आभार व्यक्त नगरी आफ्नो भनाइको बिट मार्नु मेरो कन्जुस्याइँ ठहर्नेछ ।

यसका साथै यो गजलसंग्रह ‘सिसिफस जीवन’ लाई मेरो प्रथम प्रयासको रुपमा स्वीकार गरी यसमा सम्मिलित गजलहरु पढ्नुहुने तपाईं सम्पूर्ण गजलप्रेमी पाठक, मेरा शुभेच्छुक, सहृदयी मित्र तथा आफन्तहरु र परिवारका सदस्यहरुप्रति हार्दिक आभार प्रकट गर्दछु । यस संग्रहलाई छोटो समयमा प्रकाशनको समुचित व्यवस्थापन गरिदिनु भएकोमा विश्व नेपाली साहित्य महासंघका (विनेसाम) केन्द्रीय अध्यक्ष विश्वासदीप तिगेला, विनेसाम परिवार तथा यस संग्रहलाई प्रकाशन संयोजन र डिजाइन तयार पार्न सहयोगको लागि देबेन्द्र सुर्केलीलाई धन्यवाद । यो कृति ‘सिसिफस जीवन’ तपाईंको हातसम्म पुर्याउन निस्वार्थ सहयोग गरिदिने मेरा अनन्य मित्रहरु रत्ना लिङ्देन र छिरिङ याङजेन् ह्योल्मोप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।

अन्तमा मलाई सृजना र लेखनप्रति प्रत्यक्ष–अप्रत्यक्ष सरसल्लाह, सहयोग गर्ने, समीक्षा, टिप्पणी, प्रतिक्रिया आदि दिने तपाईं सम्पूर्ण मित्र तथा पाठकहरुलाई हार्दिक आभार व्यक्त गर्दछु । तपाईंहरुको निरन्तर साथ मेरो थप सृजनाको उर्जा बन्नेछ ।

info@pslimboo.com.np

Culture Limbu News Social
चासोक तङ्नाम बनभात -३७९५
December 1, 2016
0

“मौलिक भाषा लिपी कला संस्कृतिको प्रवर्द्धन गरौ,
चासोक तङनाम सहभागिता जनाई भब्य सफल पारौं “

लिम्बू समुदायको महान चाड “चासोक तङ्नाम-३७९५ “को अवसरमा, किरात याक्थुङ चुम्लुङ यूएईको आयोजनामा, यहि आउदो डिसेम्बर १६, २०१६ को दिन लिम्बू समुदायसंग समन्धित आकर्षक साँस्कृतिक प्रस्तुतिताका साथै विविधि अतिरिक्त कृयाकलापहरुबीच “चासोक तङ्नाम बनभात” को आयोजना गरिने गरिदैछ | कार्यक्रमका आकर्षणहरु;

१: प्रतियोगितात्मक हाजिरीजवाफ
२:धान नाच
३: च्याब्रुङ नाच
४::पक्लुङ ( छेलो )
५ : भाले जुधाई
६: लिम्बू पहिरन प्रदर्शन आदि

सहभागी जनाउन इच्छुक महानुभावहरुले, पोस्टरमा उल्लेख गरिएका व्यक्तिहरुलाई सम्पर्क गरी, विस्तृतरुपमा जानकारी लिन सक्नुहुनेछ |

नोगेन \धन्यवाद !

आयोजक
किरात याक्थुङ चुम्लुङ, यूएई
www.facebook.com/chumlunguae

Literature
कविता- म मृत्यु हुँ …
October 22, 2016
0
,

म मृत्यु हुँ …

म मृत्यु हुँ
मलाई कसैले रोक्न सक्दैन
म एक अकाट्य सत्य,
र अदृश्य भय हुँ – कसैले देख्न सक्दैन
म मृत्यु , एक अकाट्य सत्य हुँ
मलाई न त उमेरले रोक्न सक्छ,
न त सीमानाका जंगे पिलरहरुले नै छेक्न सक्छ
मलाई न त पिंजडामा बन्द गर्न सकिन्छ,
न त मलाई “करान्दरु पेनिटेनशरी” मा थुन्न सकिन्छ |

म मृत्यु हुँ- मेरा अनेक रुपहरु छन्,
पक्षघात क्यान्सर एड्स
हृदयघात बनी लिन्छु ज्यान
भूकम्प, सुनामी चट्याङको
बाढी पहिरो मेरा केहि रुपहरु हुन्
म दुर्घटनाको रुप लिन्छु
कहिले आगो कहिले बिष
कहिले हतियार-गोलि बारुद आदि आदि
म मृत्यु हुँ -मेरा अनेक भयानक रुपहरु छन्

म मृत्यु हुँ – मेरो कुनै बिदा हुदैन
मैले २४X ७ काममा व्यस्त हुनुपर्छ
लडाईं, भूकम्प, सुनामीको बेला
मैले आराम पाउदिन
म मृत्यु हुँ, मेरो कहिल्यै बिदा हुदैन |

म मृत्यु हुँ – मलाई निम्तो पनि गर्छन्
तथापी मेरो उपस्थितिमा
धेरै दुखी बन्छन्
धेरैको आँशुको कारण बन्छु म
नचाहेर पनि धेरैले रुवाउनु पर्दछ
यद्यपी मेरो उपस्थितिले कतिलाई पीडामुक्त गर्छ
सकेसम्म टार्ने कोशिस गर्छु,
जवरजस्ती गर्नेहरुकोमा
कहिले हस्पिटलमा
कहिले बाटोमै, एम्बुलेन्समै
नभ्याई नभ्याई आतिथ्य स्विकारी दिन्छु

म मृत्यु हुँ- कसैलाई बक्सिन
एक महान महात्मा,
गौतम बुद्धलाई बक्सिन
अहिंसावादी महात्मा गान्धीलाई छोडिन
बीर योद्दाहरू- नेपोलिय,
क्रुर शासकहरुलाई बाँकि राखिन
हिटलर सद्दाम गद्दाफी छोडिन
बिनलादेन लाई राखिन

म मृत्यु हुँ- मेरा कोहि मित्र हुन्नन्
म कसैलाई छोड्दिन
युद्ध, भूकम्प सुनामी आदि मेरा मित्रहरु होईन
ढिलो चाँडो
बाराक ओबामा, भ्लादमीर पुटिन,
मोदी, प्रचण्ड, केपी, देउबा
एन्जिलोना, ब्रुस विल्स, शाहरुख
र संसारका कसैलाई छोड्दिन
म मृत्यु हुँ |

म मृत्यु हुँ- अजित
मलाई युद्दमा पराजित गरिन्न
मेरो बिरोधमा मोर्चाबन्दि गर्छन्
कहिले धामी झाँक्रीहरु
कहिले डाक्टर नर्सहरु
पटक पटक युद्द गरी
मलाई अलमल्याउने असफल गर्छन्
तर अहँ मलाई हराउदैनन् र म कहिले हार्दीन
कहिल्यै कसैले हराउन सक्दैनन् मलाई
किनभने अजित -म मृत्यु हुँ |

Limbu Limbuwan Opinion Political
मंचको महाधिवेशन संगै उत्पन्न प्रश्नहरु
June 21, 2016
0

संघीय लोकतान्त्रिक रास्ट्रिय मंचको मिति २०७३ असार १७ – १९ आसन्न महाधिवेशन भव्यताका साथ आयोजना हुदैछ । भव्यताकासाथ सफल बनोस्, शुभकामना तर यसका साथै अनगिन्ती प्रश्नहरु उब्जिएका छन् ।

१: के महाधिवेशनको आयोजना गरिदा अपनाईनु पर्ने न्युनतम प्रावधान, बिधी समेत नअपनाई बेलाईएको महाधिवेशन वैधानिक हुन्छ ?

२: संघीय लोकतान्त्रिक रास्ट्रिय मंचकाको केन्द्रीय महाधिवेशन अगावै इकाई, जिल्ला आदिका अधिवेशन सम्पन्न कहिले र कहॉ गरियो ?

३: संघीय लिम्बूवान पार्टी नेपालका अध्यक्ष कसरी संघीय लोकतान्त्रिक रास्ट्रिय मंचको महाधिवेशन बोलाउन सक्छन् ?

४: अध्यक्ष मानशिक रूपमा भेडेटार एकता र ९ बूँदे सम्झौताको बिपक्षमा भएकोले सुरू देखिनै
संघीय लिम्बूवान पार्टी नेपाल संस्थागन गर्न तर्फ नलागी बिभिन्न निर्णयहरु संस्थागत निर्णय नगरी ब्यक्तिगत ढंगबाट मनोमानी निर्णय गरी पार्टी बिभाजन गराउन तिरनै अग्रसर रहेको महसुस गरिएको थियो, यो कदमले प्रष्ट्याउछ ।

Limbu Limbuwan Opinion Political
मंच महाधिवेशनबाट अपेक्षित निर्णयहरु
June 21, 2016
0

संघीय लोकतान्त्रिक रास्ट्रिय मंचको मिति २०७३ असार १७ – १९ महाधिवेशन भव्यताका साथ आयोजना हुदैछ | यस महाधिवेशनबाट निम्नानुसार निर्णयहरु पारित गरी भव्यताकासाथ सफल बनोस्, शुभकामना ! लिम्बूवान जनताबाट अपेक्षित निर्णयहरु, निम्नानुसार छन् |

१:  महाधिवेशन प्रतिनिधिहरुको दुई तिहाई बहुमतद्वारा मिति २०७१ साउन १९ को भेडेटार एकताको सम्झौतालाई आधार बनाई, लिम्बूवान पक्षधर राजनीतिक पार्टीहरुमा एकताकोलागि नेतृत्वमा दबाव सिर्जना |
२:  संघीय लोकतान्त्रिक रास्ट्रिय मंच ९ बुँदे भेडेटार सम्झौता अनुसार राष्ट्रिय शक्तिको आवश्यक महसुस भए, एकितृत पार्टीको निर्णय मार्फत ब्युताउने गरी, अहिलेलाई
३:  नौ (९) बुँदे सम्झौता आघिका पाँच पार्टीहरु अबिलम्ब खारेजीकोलागि पहल गर्ने, गराउने |
४:  संघीय लिम्बूवान पार्टी नेपाललाई यथाशीघ्र निर्वाचन आयोगमा दर्ता प्रकृया अगाडी बढाउने |
५:  लिम्बूवान राजनीतक एकताको निम्ती आफु सम्बद्द सम्पूर्ण देशविदेशका शाखा इकाईहरुलाई एकता नखल्बल्याउन आग्रह गर्दै, प्रेस बिज्ञप्ति गर्ने |

आसन्न महाधिवेशनले भेडेटार एकतालाई लत्याई , ९ बुँदे सम्झौता तोड्ने निर्णय गरी, विधिवत अलग हुने निर्णय गरे संघीय लोकतान्त्रिक रास्ट्रिय मंच र मंच सम्बद्द संघीय लिम्बूवान पार्टीले राजनीतिक आधार गुमाउनेछ |

 

Limbu Limbuwan Opinion Political
भेडेटार एकता पछि, बिकसित लिम्बूवान राजनीति र यसका निकास
June 19, 2016
0
, ,

भेडेटार एकता पछि,  बिकसित लिम्बूवान राजनीति र यसका निकास  

बिकसित लिम्बूवान राजनीति 

डा चन्द्रकुमार शेर्मा ज्यु को संयोजकत्वमा लिम्बूवान पक्षधर पाँच पार्टीहरुको बृहत छलफल पछि, मिति २०७१ साउन १९ गते पाँच पार्टीहरु “संघीय लम्बूवान पार्टी नेपाल (संलिपाने)” मा विलय हुने गरी भेडेटारमा ९ बुँदे सम्झौता गरी पार्टीहरु एकितृत भएको हो |

अहिले आएर नीतिगत भन्दा पनि, व्यक्तिगत स्वार्थ, अहम, इगो तथा अन्य सदस्यता वितरण जस्ता झिनामसिना मुद्दाहरुमा अल्झिने कार्यले संलिपाने संस्थागत गर्न विभिन्न बाधा अड्चनहरु उत्पन्न भई, एएकीकरण पछि, सम्पूर्ण लिम्बूवानबासीहरुको अपेक्षालाई तुहाउने कार्य मात्रै भएको छैन, लिम्बूवान राज्य स्थापित गर्न अहोरात्र खट्ने, बर्षौ देखिको त्याग र बलिदान दिने अनि देशबिदेशका लिम्बूवान प्रेमीहरु (ज-जसले ले यतिका वर्षसम्मको आर्थिक योगदान गरे) सबैलाई केहि नेताहरु तथा कार्यकर्ताहरुको आपसी असमझदारीको कारण निराश तुल्याउने कदम अघि बढ्दै छ |

एकता पछि नेतृत्वले निम्न कार्यहरु- गर्ने प्रयाश भए होलान तर प्रभाबकारी गराउन नसक्नु – गर्न गराउन चुकेको पुष्टि हुन्छ |

१. पार्टी दर्ता:  पाँच लिम्बूवान पक्षधर पार्टीहरुबीच एकतापछि नयाँ बिधान बनाई, यो दुइबर्षको अवधिमा पार्टी, संघीय लिम्बूवानपार्टी नेपाल (संलिपाने), निर्वाचन आयोगमा दर्ता गराईसक्नु पर्दथ्यो | त्येसो हुन नसक्नुले लिम्बूवान राजनीतिमा अन्योलता सृजना गरेको छ |

२. विधान मस्यौदा:  सर्बपक्षिय तुम्याहाङहरु/व्यक्तित्वहरु सम्मिलित बिधान मस्यौदा समिति गठन गरी, बिधान निर्माण गरे, बिधान पारित गर्ने समस्या सृजना हुने थिएन |

३. सदस्यता वितरण:  सदस्यता वितरणमा किचलो सम्बन्धमा, विधानमा तोके बमोजिम प्रक्रिया अपनाउने गरिन्छ र अपनाईनु पर्दछ | पाँचपार्टीहरु एकीकरण भएकोले, केन्द्रीय समितिले एक सर्बपक्षिय सदस्यता वितरण उपसमिति निर्माण गरी, अर्को साधारणमा नियम संसोधन हुने गरी, अहिलेलाई तहगत रुजु गर्ने व्यवस्था गरी क्रियासिल सदस्यता वितरण गर्न सकिन्छ/थ्यो | उदाहरण: पाँचै पक्षिय विभिन्न तहमा सदस्यता आबेदन फर्ममा: प्रस्ताब गर्ने १ सिफारिस गर्ने १, निरिक्षण गर्ने १ रुजु गर्ने १,प्रमाणित गर्ने १ र सदस्यता प्रमाणपत्रमा्त्या अध्यक्षको दस्तखत | योप्रक्रियाले कति र ककसको सदस्यता वितरण भए भन्ने सबै पक्षधरलाई अध्यावधिक जानकारी रहने हुन्छ |

५. पार्टी खारेजी: संलिपाने नेतृत्वले यो दुईवर्षको अवधिमा, पार्टी सान संस्थागत गरी, एकता हुदा बखतका पाँच पार्टीहरु खारेज गरी सकिनु पर्दथ्यो | तर त्येसो गरिएको नपाएइको |

६. “संघीय लोकतान्त्रिक राष्ट्रिय मंच” लाई ब्युताउने सवालमा, ९ बुँदे सम्झौतामा बुंदा ३ मा स्पष्ट उल्लेख गरिएको छ, ” संघीय नेपाल अन्तर्गत, खम्बुवान ( किरात), ताम्सालिङ नेपलमन्डल, तमुवान मगरात खसान, थरुहट मधेस स्वायत्त राज्य प्राप्तिको आन्दोलनलाई नैतिक समर्थन गर्दछ | पहिचानवादी राष्ट्रिय शक्ति निर्माण गर्न एकितृत पार्टीले आवश्यक ठानेमा संघीय लोकतान्त्रिक राष्ट्रिय मंचलाई ब्युताउन सक्नेछ |”

सम्झौता अनुसार “एकितृत पार्टी” अर्थात “संघीय लिम्बूवान पार्टी नेपाल”ले “पहिचानवादी राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक ठानेमा” संलिपने ले संघीय लोकतान्त्रिक राष्ट्रिय मंचलाई ब्युताउन सक्नेछ भनिएको छ तर पार्टीको छलफल र निर्णय बिना नवीकरण गरिएकोले सम्झौता उलंघन गरेको ठहर्छ |

७. संघीय गठबन्धनमा संलिपानेको सहभागिता: संघीय गठबन्धनमा संलिपानेको सहभागिता सवालमा, पहिचानवादी दलहरुलाई (बुदा ६ हेर ), ९ बुँदेले नैतिक समर्थन गर्ने उल्लेख गरेको छ भौतिक होइन | सहभागी जनाउने निर्णय पार्टी अध्यक्षले केन्द्रीय समितिको पूर्ण बैठकद्वारा पारित वा अनुमोदित थियो | यदि होइन भने, यहाँ नेर त्रुटी भएको छ | संलिपाने का शिर्षनेताहरुको बिज्ञप्तिबाट र संलिपाने को २०७३/२/३१ ओ निर्णय अनुसार अबगत हुन्छ कि सहभागी जनाउने संघीय लिम्बूवान पार्टी नेपाल निर्यण थिएन |

८. पार्टीबाट अध्यक्षलाई हटाइएको सन्दर्भमा, संलिपानेको अध्यक्ष हुदाहुदै सम्बन्धित पार्टीमा छलफल नचलाई, बिना पार्टी निर्णय संघीय लोकतान्त्रिक राष्ट्रिय मंचलाई अध्यक्षको हैसियतले नवीकरण प्रक्रिया अगाडी बढाउन अध्यक्षको नीतिगत त्रुटी तथा मंचप्रति बढी झुकाब स्पष्ट हुन्छ |

९: संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको अधिबेशन:  तोकिएको महाधिवेशन भेडेटार ९ बुदे समझदारी एकता जीवित राख्न सकेसम्म रद्द गराइनु पर्छ | सम्भब नभए, महाधिवेशनबाट ९ बुदे सहमतिलाई घात हुने नभई, संघीय लिम्बूवान पार्टी नेपाललाई संस्थागन गर्ने  उर्जा मिल्ने र लिम्बूवान अन्दोलनलाई  सहयोग पुग्ने निर्णय गरिनु पर्दछ |      

माथि उल्ले गरिएका धेरै जसो समस्याहरु असमधानीय होइनन् | इच्छा भए बसेर छलफल गरे, राजनीतिमा असम्भव त हुदैहुदैन भन्ने अहिलेको गठबन्धन सरकारबाट पनि पाठ सिक्न सक्नुपर्ने हाम्रा लिम्बूवानी नेतृत्व तथा कार्यकर्ताहरुले |

निकास 

अझ केहि ढिला भएको छैन | नेताहरु कमल छाराहाङ, कुमार लिङदेन, बिर नेम्वाङ, संजुहाङ पालुङव़ा, रामभक्त कुरुङबाङ, खगेन्द्र माखिम, सुर्य माखिम तथा कार्यकर्ताहरुले  लिम्बूवान  भूमि  र लिम्बूवानी जनताकै लागि भए पनि सबैले राजनीतिक लेनदेन गरी बिकसित लिम्बूवान राजनीतिक  निकासको लागि सबैजनाले चौतर्फी पहल गरिनु पर्छ-  विशेषगरी अध्यक्ष र चार शिर्सस्थ नेताहरुले |

 

 

 

Political
फुटेर होइन, जुटेर
June 14, 2016
0

सम्पूर्ण लिम्बूवान पक्षधरहरु,

“फुटेर होइन, जुटेरमात्र लिम्बूवानवासीहरुको यतिलामो अन्दोलन, त्याग र बलिदानको सार्थक बन्न सक्छ |
लामो समयको अथक प्रयाश पछि्, पाँच लिम्बूवान पक्षधरहरु “संघीय लिम्बूवान पार्टी,नेपाल” मा बिलय भएकोमा लिम्बूवानवासीहरु खुशी भई, आशाको मुना पलाएको थियो |
दुर्भाग्य नेपालको अन्य दलीय राजनीति र नेताहरुको प्रवृति भन्दा लिम्बूवान राजनीतिपनि र नेताहरुलको पृथक बन्न नसक्नु अत्यन्तै बिडम्बना बनिदैआएको छ |
बिभाजनको संघारमा पुग्नै लागेको त्यो ऐतिहासिक एकतालाई संस्थागत गरिनु, अन्य मुद्दाहरु केहि समय थातीराखेर अर्थात् पार्टीभित्रको असमझदारी, फरमत जस्त पहिचान गरी निराकरण सम्बोधन गर्ने प्रमुख कर्तव्य र दायित्व वर्तमान नेतृत्व बन्न आउछ | तसर्थ लिम्बूवानवासीहरुको यति लामो आन्दोलन, त्याग, बलिदानको कदर गर्नकै लागि भए पनि सबैखाले असमझदारी,फरकमत तथा आ-आफ्ना अडानहरुमा सबै पक्ष बसी बुदागतरुपले बृहत छलफल गरी, प्रक्रियागत ढंगले संस्थागत निर्णय गरी, सबैले आत्मसात गरी अघिबढेमात्र करिब यतिलामो अन्दोलन, त्याग र बलिदानको सार्थक बन्न सक्छ |

नेपाली राजनीतिमा, देशमा स्थापित  दलका नेताहरु राजनीतिलाई जागिर, ब्यबसाय  जस्तो सम्झने गर्छन् | लिम्बूवान पक्षधरका नेताहरुमा पनि यो प्रवृतिको बिकाश हुदै गएको भान हुन्छ | कुनै पनि संगठन सफल हुनुमा सामुहिक कार्यमा निर्भर हुनेहुदा | एक वा दुईजना मात्र अहोरात्र खटेर, समुहका अन्य सदस्यहरु हात बाँधेर बसिदिए, निस्कृय भइ दिए,  संस्थागत निर्णय लिन असहज बनि संगठन अगाडी बढ्न कठिनाई  बन्ने जतिसुकै सक्षम नेतृत्व पनि असफल बन्दछ | तसर्थ संगठनमा आवद्द सबै पदाधिकारीहरुले विधानले तोके अनुसारको अफ-आफ्नो काम कर्तब्य र जिम्मेवारी बहन गर्नु पर्ने हुन्छ |
कुनैपनि गभिर बिषयहरु निर्णय गर्नु अघि,  छलफलद्वारा सांगठनिक निर्णय गरिनु पर्दछ |

सामाजिकसंजाल रबिज्ञप्तिबाजी गरी, एकअर्कालाईदोषारोपण गर्ने गतिविधि अबिलम्ब बन्द गरियोस् |

Culture Social
उँधौली चासोक् चाड : साझा धान(नाच) पर्व -डीबि आङबुङ
May 27, 2016
0

उँधौली चासोक् चाड : साझा धान(नाच) पर्व
-डीबि  आङबुङ 

प्रकृतिमा सेताम्मै पैयुँ फुल्ने याममा धान पाकेर आउने उँभौली चासोक् चाड साझा धान (नाच) पर्व हो । यो चाडलाई मौलिक मान्ने आदिवासी राई, लिम्बू, याक्खा र सुनुवारको त मुख्य चाड हो नै । धानको खेती र धानबाट जीवीका र जीवन चलाउने सबै कृषक तथा मानव सुमुदायको पनि साझा चाड हो ।

यस उँभौली यामलाई चासोक् चाड अर्थात् धानपर्वको रुपमा मान्ने आदिवासी लिम्बूहरूको संस्कार र संस्कृतिसँग यो धान र धान(नाच) पर्वको सांस्कृतिक सम्बन्ध विशेष अर्थ र महत्वको छ । यस अर्थ र महत्वको सम्बन्धलाई राम्ररी पर्गेल्न सक्दा यो सवाल सिङ्गो नेपाली जाति र मानव समुदायकै प्रतिष्ठा र गौरवको विषय पनि बन्न सक्दछ ।

प्रागऐतिहासिक कालसँग सम्बन्ध राख्ने यस्ता सवालहरूको अध्ययन र खोजी पूरातात्त्विक हिसाबले गर्न सकिन्छ । तर, यस हिसाबको अध्ययनका लागि सबै प्रमाणहरू पाउन र पर्गेल्न पनि उत्तिकै गाह्रो काम हो । पूरातात्त्विक उत्खनन् र कार्वन डेडिङ नै गर्ने आधार प्रमाणहरू नपाइने अवस्थामा मानवशास्त्रीय अध्ययनको खाँचो हुन्छ । मानवशास्त्रीय आधारले सांस्कृतिक सम्बन्ध, मान्यता र परम्परामा यस्ता खोजहरू गर्न सकिन्छ । यसका लागि भाषाविज्ञानको आधार अर्को महत्वपूर्ण प्रमाण हो ।

लिम्बूजाति र धानको सम्बन्ध :

आदिवासी लिम्बूजाति र धान खेतीको सम्बन्धमा, विद्वान गुर्देव एस. खुशले प्लान्ट मलेक्युल बाइअलजी जर्नल ३५:२५–३४ (१९९७:२९) मा उल्लेख गरेको एक प्रसङ्ग राख्नु सान्दर्भिक हुन्छ । उनका अनुसार, भाषावैज्ञानिक आधारहरूले पनि एसिया क्षेत्रमा सबैभन्दा पहिले धानको घरेलुखेती सुरुवात भएको देखाउँदछ । यहाँका धेरै स्थानीय भाषाहरूमा प्रयोग हुने व्यवहारिक शब्दहरू धान र खाना वा धान र खेतीकार्यसँग पयार्य(वाची) शब्दहरू छन् ।

लिम्बूजातिमा यस्ता शब्दहरू हेर्दा लिम्बूभाषामा ‘धान’लाई ‘या?’ भनिन्छ । जुनसुकै अन्नलाई ढिकीमा कुट्नुपरे पनि ‘या?हाक्मा’ (धानकुट्नु) नै भनिन्छ । चाहे जुनसुकै अन्नलाई जाँतोमा पिस्नु परे पनि ‘या?युःप्मा’ (धानपिस्नु) नै भनिन्छ । जुनै अन्न बालीमा लाउँदा वा जाँड पकाउन कोदो नै भिजाएर कुट्नलाई ढिकीमा लाउँदा पनि ‘याक्वाकेःप्मा’ (धान लाउनु) नै भनिन्छ । साथै, अन्न भुट्ने पुरानो माटोको भाँडो (हाँडी) लाई पनि ‘खेःक्या?’ (धानभुट्ने) नै भनिन्छ । यसै प्रसङ्गलाई किरात इतिहासका अध्येता कृष्णविक्रम नेम्बाङले उनको कृति ‘आक्षेप र पाठक प्रतिक्रिया’ (२०७२:१५)मा लिम्बु भाषामा ‘धान’लाई ‘या?’ भनिने आधारमा थप स्पष्ट पार्दछन् । उनका अनुसार, लिम्बुका अनेक संस्कृति धानसँग सम्बन्धित छन् । जस्तै, खेतला बोलाउँदा ‘या?लिक्’ ने बोलाउँछन् चाहे जेसुकै काम गर्न परोस् । ‘या?नाम्’ (बिस्कुन) धानकै हुन्छ चाहे त्यो मकै, कोदोकै किन नहोस् । ‘याःन्धा’ (मेलापात) खेती गर्ने, ‘याःम्बक्’ गर्ने काम, जेसुकै भए पनि ‘या?’ धाननै उपसर्ग भएर जोडिन्छ । धानको दाइँ गर्ने ‘या?लाःक्’ बाटै लिम्बुको प्रसिद्ध संस्कृति ‘या?लाःङ्’ (धाननाच) विकसित भएको हो । यसबाट सुदुर अतीतमा धानको खेतीसँगै तिनको संस्कृति निर्माणको प्रारम्भ भएको आभाष पाइन्छ ।

यसरी नै धानसँग लिम्बुजातिको संस्कार–संस्कृतिको सम्बन्धलाई हेर्दा पनि अन्योन्याश्रित देखिन्छ । जब कुनै लिम्बु किशोर किशोरी यौवनावस्थामा पुग्छन्, उनीहरूको शीर उठाउँनी अनुष्ठान ‘माङ्गेन्ना’ गर्नुपर्दछ । यसको अर्थ अब तिमी जवान भयौ । जवानीसँगै अघि बढ्दा जीवनमा अनेक बाधा–व्यवधानहरू आउन सक्छन् । आँखीडाही लाग्न सक्छ र उँचो रहिरहनु पर्ने शीर ढल्न पनि सक्छ । यस्तो नहोस् भन्नका लागि माङ्गेन्ना अनुष्ठान गर्दा आठ मुठी वा एकमाना धानको चामल चाहिन्छ । त्यो शीर उठाउने अन्न हो । त्यो अन्न सो उपकारी व्यक्तिले नै पकाएर खानुपर्दछ । भविष्यको यात्रामा अघि बढ्दा आफ्नो इतिहास र पहिचान पनि थाहा हुनुपर्छ । यसका लागि माङ्गेन्ना अनुष्ठान गर्दा नीजको परिवारको ऐतिहासिक गाथा नै सुनाइन्छ । यसबेला अनुष्ठानकर्ता पुजारीका साथ चेली माइतिको उपस्थिति विशेष महत्वको हुन्छ ।

लिम्बुजातिले अरुबेला नभए पनि विवाहको बेला भने बेहुला बेहुलीलई धानको चामलसहितको दियो कलश, लाउने टीका र पर्सिने अक्षता अनिवार्य हुन्छ । यसका साथै, लिम्बुजातिमा आशीर्वाद दिने र लिने विशेष परम्परा छ । यसमा धानको चामल अनिवार्य चाहिन्छ । आशीर्वाद दिनु वा लिनु भन्नु नै धान चामलको अक्षता र फूलको पत्रहरू दिनुलिनु हो ।

लिम्बू किशोर किशोरीहरूको विवाहपछि उनीहरूको विशेष जिम्मेवारी बढ्दछ वा छुट्दछ । त्यसैले पुरुषले नाहाङ्मा अनुष्ठान गर्दछन् । महिलाले पिचम्मा लगायतका देवताहरू माइतबाट कर्मघरमै लिएर जानुपर्दछ । अर्थात् छोरीमान्छे जहाँ जान्छन् उनका पुख्र्यौली देवताहरूले पनि त्यतै पछ्याएर लान्छन् । यसर्थ, चेली वा महिलाहरूलाई सबैको संरक्षक ‘माङ्गेन्ना÷चेली’ पनि भन्ने गरिन्छ । पुरुषले आफ्नो विशेष पारिवारिक जिम्मेवारी ग्रहण गर्न वा छुट्याई लिन होस् वा चेलीले आफ्ना कुल देवताहरू लिएर गई पुज्नलाई होस् त्यहाँ अनिवार्य धानको चामल नै चाहिन्छ ।

लिम्बू लगायत सायद धेरै अरुको पनि मृत्यु हुँदा मृतको लाशसँगै एकमाना चामल पोकोपारी दिइपठाउनु पर्दछ । त्यो बाटोको खाना हो । साथै, लाशलाई सागर वा चिहानघारीमा लैजाँदा मूलबाटोको विशेष ठाउँ दोबाटो या चौबाटोहरूमा भुटेको धान ‘या?बोन्’ वा ‘या?दोमुरा’ ठाउँठाउँमा छर्दै राख्दै जानुपर्दछ । यसले मृतकको आत्मालाई बाटो दिने हो । मृतकलाई पिण्ड चढाउँदा पनि धान चामलकै भात चढाउने हो । यसर्थ, धान चामलविना लिम्बुजाति लगायतको मृत्युकर्म पनि अधुरो नै हुन्छ ।

याक्थुङ मुन्धुम्का अध्येता बैरागी काइँलाले उनको कृति ‘तङ्सिङ् तक्मा मुन्धुम् : आख्यान र अनुष्ठान’ (२०५२:२८) मा उल्लेख गरेअनुसार, लिम्बूजातिले गर्ने विशेष अनुष्ठान ‘तङ्सिङ्’ गर्दा पनि अन्न (धान) कुट्ने मुन्धुम् आउँछ । यसबेला धानकुटेको अनुकरण गर्नुपर्दछ । यसरी यस विधिबाट तयार भएको चामल भरेर देवताको भात पकाउने भनी चामल एउटा भाँडामा हाली कपडाले पोको पारेर लिङ्गोको टुप्पामा भएको एचेदिम्मा झुण्ड्याइन्छ ।
यसरी लिम्बूजातिको हकमा कुनै एक व्यक्ति जन्मनुपूर्व कोखमै रहेको अवस्थादेखि मृत्युपछि अन्तिम संस्कार गर्दा पनि धान चामलको अक्षता, चिउरा र भात नै चाहिन्छ ।

चासोक् चाड : 

लिम्बुजातिले विशेष ३ वटा न्वागी (सोक्)हरू गर्दछन् । यसमा तक्सोक् (अन्न/खानाको न्वागी), थिसोक् (पानी/ जाँडको न्वागी) र फाक्सोक् (पशु/सुङ्गुरको न्वागी) पर्दछन् । यिनीहरू सबै खानेकुरासँगै सम्बद्ध हुने भएकाले समग्रमा यी सबैको न्वागीलाई नै ‘चासोक्’ भनिन्छ ।

 

चासोक् चाड प्रकृतिमा पैयुँ फुलेको बेला वा धान पाकेको याम्मा पर्दछ । अहिलेको जस्तो तिथि मितिको गणना गर्ने आधार पात्रो नभएको अवस्थमा पुर्खाहरूले यिनै प्रकृतिमा फुल्ने वा पाक्ने फलफूल र अन्न तथा हिउँद–वर्षा, जाडो–गर्मी वा पशुपंक्षीको क्रियाकलाप र आकाशमा देखिने जूनताराको गति तथा आकारको आधारमा समयको गणना वा निर्धारण गर्नेगर्दथे । पहिले गाउँघरमा गाउँका स्थानीय परम्परागत सामाजिक संस्था सावा येत्हाङ चुम्लुङ तथा भद्रपुरुषगण तुत्तुगेन् तुम्म्याहाङ र भद्रमहिलागण याक्लागेन् सुहाङ्माहरूको सामूहिक सल्लाहले यस्ता पर्वहरू मान्ने मिति र समयको निर्धारण गर्ने गर्दथे । यसर्थ, सबै गाउँठाउँमा एकै दिन र एकै समयमा यी चाड मान्ने दिनहरू नपर्न पनि सक्दथे । लेक आउल, तराई पहाड र हिमालको स्थानीय मौसम अनुसार यी पर्व मान्ने दिनहरू केही तलमाथि पनि हुने गर्दथ्यो । तर, अहिले राज्यको नीति तथा अन्य धेरै कुरा र कारणले सम्बद्ध जाति वा समुदाय सबैले एकै दिन र अवसरमा यस्ता चाडबाडहरू मनाउँदा सामूहिकताको भावना विकास गर्नमा सहजता हुने भएकोले अहिले आएर यस चासोक चाडलाई उँधौली मङ्सिरे पूर्णिमाको अवसरमा मान्नु पर्ने आधुनिक संस्थागत निर्णय भएको छ ।

चासोक तङ्नाम तथा धान (नाच) को मुन्धुम् :

मानवशास्त्रीय, पुरातात्त्विक तथा वैज्ञानिक अध्ययनको आधारमा पनि दक्षिणपूर्वी एसिया तथा दक्षिणपूर्वी चीन, जापान, थाइल्याण्ड, मलेशिया, भारत र नेपाल हिमालयको सेरोफेरोबाटै धानको पहिचान र खेती भई अन्य मुलुकमा प्रसार भएको पाइन्छ । विद्वानहरू डी. क्यू. फुलर लगायत (सन् २०१०) ले धानको पुरातात्त्विक इतिहासको बारेमा गरेको अध्ययन अनुसार प्रागइतिहासमा यसको खेती दक्षिणपूर्वी चीनको याङ्जे नदी क्षेत्रमा पाँचदेखि ६ हजार वर्ष पहिले भएको मानिन्छ । धानको प्रगऐतिहासिक उत्पत्ति तथा खेती क्षेत्र र तिनका नामहरू पनि लिम्बुभाषामा धानलाई भनिने नाम ‘या?’ सँगै मिल्दोजुल्दो पाइन्छन् । जस्तै, याङ्जे, याङ्साओ, यिलाउ, यायोइ, र युनान आदि । यसबारे थप अध्ययन आवश्यक हुन्छ ।

धान र यसको उत्पत्ति तथा उपयोगको बारेमा यस क्षेत्रका विभिन्न आदिवासीहरूमा आ–आफ्नै किसिममा मिथक (मुन्धुम)हरू पनि भएको पाइन्छ । यसमध्ये, सिचुआन चीनका आदिवासी मिआओ जातिको मिथक (Taryo, ? ) र लिम्बू जातिमा प्रचलित धानको बीउ चराले ल्याइदिएको एउटा मुन्धुम मिल्दोजुल्दो छ । ती मियाउ जातिका पुर्खाहरूले आफ्नो खेतबारीमा छर्ने उचित बीउ नपाएपछि त्यसको खोजीमा एउटा हरियो चरालाई उडाई पठाए । त्यो चरा स्वर्गमा भएको बीउहुने देवतासँग धानको बीउ मागी लिएर फर्क्यो । यता लिम्बुजातिको सन्दर्भमा इतिहास तथा लोककथाकार शिवकुमार श्रेष्ठले किराती लोककथा सङ्गालो (२०५१:१) मा उल्लेख गरे अनुसार, लिम्बुजातिको पुर्खाहरूको दुःखलाई देखेर ‘फेल्येरे फेम्पुना’ नामक चराले धान पाकेपछि पहिले आफूहरूले खान पाउनु पर्ने सर्तगरी कतै उडिगएर घैया?धान र ताक्मारे धानका बीउहरू लिएर आयो । त्यस चराले लिम्बू किरातहरूलाई ती बीउहरू जिम्मा दिएर खेतीपाती गर्ने तरिका पनि सिकाई राखे । पछि धान पाक्यो । पहिलेको सर्तानुसार पाकेको धान सबै ती चराहरूले हुलका हुल आएर खाइदिन थाले । तीनै चरालाई हा…हा… भन्दै खेदाउन एकापसमा हात समाएर धान माड्दै सामूहिक रुपमा नाच्न थाले । यसैक्रम्मा धाननाच र पालाम (गीत)को सुरुवात भयो ।

चासोक् मुन्धुमबारे मुन्धुम्विद् दुर्गाप्रसाद फोपाहाङद्वारा सङ्कलित तथा मञ्जुल याक्थुम्बाबाट सम्पादित ‘मुन्धुम र मिथकहरू’(२०७०:१५२) मा उल्लेख भएअनुसार, तिबक्को तिअन्लामाङ्का तीन छोरादेवहरू फयङ्गेहाङ, तङ्हाङ र पेनहाङ थिए । तिनलाई पृथ्वीतलमा गएर मानवजातिलाई अन्नको बीउबीजन झारी दिन आदेश दिए । बिहान झुल्के घाममा पूर्वदिशातिर कुनै रुखमा अन्नका बीउका झुप्पाहरू झुण्डिरहेको देखे । त्यसलाई धनुकाँडको भाटाले फेयङ्गेहाङले हिर्काए । हिर्काउँदा बीउका झुप्पाहरू उच्छिटिएर आठभाग दक्षिण र नौ भाग उत्तरतिर गए । बीचमा साङ्घामा लिङ्घामा र ताक्मारु घैयाधान मात्र रह्यो । त्यसलाई बटुलबाटुल गरी तङ्हाङले सावायेत्हाङ पाङ्भे (याक्थुङ गाउँ) मा आउँदा सावा येत्हाङ्हरूका एउटी पाकी ढाड नुहिएकी चेली सिबेरा याक्थुङ्मा (एःक्थुक्किना?) याभुङ्गे्रक्माले खोरिया फाँडेर आगो लगाई भस्मे माटो बनाई राखेको ठाउँमा ती बीउ लिएर आउने देवताहरू आइपुगे । अन्नका बीउहरू ती महिलालाई दिई ती देवताहरू तिबक्को तिअन्ला तेम्बेमा फर्केर गए ।

अब काठको अङ्कुसको सिङ्काःङ् (कोदालो) बनाई ती महिलाले बीउ छरपोख गरिन् । सो उम्रेको बीउबाट फलेका अन्न आफ्ना माइतिहरू दाजुभाइ सबैलाई बाँडिदिइन् । अब सबैले भस्मे फाँडी सो अन्न उमार्न थाले । ती माइतिहरूले पनि आफूले उब्जाएको अन्न खानुअघि तिनै चेली सिबेरा याक्थुङ्मा याभुङ्ग्रेक्मा र बीउबीजन दिने देवता लगायत कुल देवताहरूलाई चढाएर मात्र खान थाले । सावा येत्हाङ् (याक्थुङ)हरूमा चासोक् तङ्नाम चाडको थालनी यसरी भयो ।

चासो:कमा पुजिने देवीदेवता माङ्साम्माङ्हरू :

चसोक् अनुष्ठान घरभित्र र बाहिर कुनै डाँडा पाखामा गरी दुई प्रकारले गर्ने गरिन्छ । यो अनुष्ठान येहाङ्को आठ मुन्धुम अनुसार गृहस्थीसम्बन्धी सेवा पुजाहरू गर्ने फेदाङ्माले सम्पन्न गर्दछन् । व्यवहारमा यो अनुष्ठान पहिले आफ्नो धानबाली पाकेको बेला पारिवारिक रुपमा घरमै र अलिक पछि विशेष अवसर पारेर गाउँमा सामूहिक रुपमा पनि गर्ने गरिन्छ । यस सामूहिक रुप्मा गर्ने चासोक् पूजा हाल आएर उँधौलीको यामपारी मङ्सिरे पूर्णिको दिनमा देश–विदेशमा मान्ने मनाउने गरिन्छ ।

यस चासोक् अनुष्ठानको अवसरलाई एक चाडकै रुपमा मान्ने प्रचलन बढिरहेको छ । यो अनुष्ठान गर्दा पुजिने देवाता(माङ्, साम्माङ, च्याःङ्)हरूमा युमासाम्माङ (तागेरा निङ्वाभुमाङ्को प्रतिनिधि मुख्य इष्टदेवी/बुढीबोजु देवता), थेबा साम्माङ (मुख्य इष्टदेव तथा बुढोबाजे देवता), मिसेक् साम्माङ् (आगो देवता), कुइकुदाप्/ताप्फेःङ्/ताम्भुङ्ना (वनजङ्गलका देवताहरू), तक्सङ्बा (लेकको शिकारी देवता), सिरिङ्मा वा मुदेन्हाङ्मा (उत्तरबाट याक्थुङ गाउँमामा प्रवेश गरेकी देवी), तेन्छामा (दक्षिणबाट याक्थुङ गाउँमा आएकी देवी), खन्ज?मा (उत्तर–दक्षिण घुमिहिँड्ने देवी), वज?मा (शक्ति प्रदान गर्ने गुरुदेवी), वरक्मा वा वारक्मा (जलदेव), थुङ्दाङ्बा (सूर्य देवता), कासिहाङ्मा (युमा साम्माङ्की सहयोगी देवी) र काप्पोबा हिम्साम्माङ (घरको रक्षागर्ने बुढो देवता) आदि हुन् ।

यी सबै देवी देवताहरूलाई नयाँ अन्नबाली फलाउन सहयोग गरेकोमा उनीहरूको गुनलाई सम्झँदै र सम्मान गर्दै पहिले पाकेको अन्न उनीहरूलाई नैचढाउने अनुष्ठान हो चासोक् सेवा । यिनका साथै, कृषि कार्यमा उपयोग गरिएका सबै सामग्रीहरू हलोजुवा, कुटेकोदालो र हसिँयालाई पनि नयाँ पाकेको अन्न धान चामलको भात टाँसेर वा पर्सेर चढाउने परम्परा छ । यसका साथै, घरको चुलाको आगो, मूल खम्बा र मूल ढोकामा पनि पाकेको अन्नको भात चढाउने गरिन्छ ।

चासोक् चाडको अवसरमा लिम्बूजातिले आफ्नो सामेहिक मिलोमतो वा एकताको अनुष्ठान तङ्सिङ् पनि गर्ने प्रचलन छ । साथै, एकापसमा भएका ननाम्रा कुरारुलाई पखालेर बगाई पठाउने मौलिक अनुष्ठान माङ्हुप माङ्दे वा साक्मुरालुङ्हि गालीश्राप् बगाउने प्रचलन पनि छ । यसबारे विस्तृतमा भिन्नै चर्चा गर्नुपर्दछ ।

चासोक चाडका चुनौती र निष्कर्ष :

कुनै पनि चाडसँग सम्बद्ध जाति वा समुदायले मनाउने अनुष्ठानिक संस्कारहरू हुन आवश्यक हुन्छ । अनुष्ठानिक संस्कारहरू नभएको चाडले भित्रितहसम्म प्रभाव पार्न सक्दैन । चासोक् चाडसँग पनि घरमा पारिवारिक रुपमा र साझा ठाउँमा सामूहिक रुपमा सम्पन्न गर्नुपर्ने अनुष्ठानिक संस्कारहरू छन् । घरपरिवारभित्रको कार्यक्रम त परिवारले नै इच्छा अनुसार गर्ने हो । तर, यसलाई सम्पन्न गर्ने विधि विधानहरू भने साझा र सामूहिक तवरको हुनसक्दा अझ राम्रो हुन्छ । घरबाहिर सार्वजनिक ठाउँ कुनै डाँडापाखा वा चुम्लुङ्हिम र माङ्हिम क्षेत्रहरूमा गरिने अनुष्ठानिक संस्कारका कार्यक्रमहरूमा भने साझा अवधारणा र विधि विधानरु तय हुन आवश्यक हुन्छ ।

लिम्बुजातिको सन्दर्भमा विभिन्न कारणले गर्दा चासोक् अनुष्ठानलाई मुन्धुम् विधि पुर्याएर सम्पन्न गर्नसक्ने फेदाङ्मा (पुजारी)हरूको अभाव खड्किँदै गएको छ । आवश्यक मुन्धुम र विधि विधान नपुर्याईकन गरिने यस्ता अनुष्ठानिक कार्यक्रमहरूले त्यस परिवार, समाज र जातिलाई संस्कारगत रुपमा दिनुपर्ने शिक्षाका प्रभावहरू नपुर्याउन सक्दछ । यसपछि, त्यस अनुष्ठान र चाडप्रति सम्बद्ध जातिकै चासो र आस्था घट्दैजाने पनि हुन्छ । यसमा सम्बद्ध जातिका सबै व्यक्ति, अध्येता; सामाजिक/सांस्कृतिक/धार्मिक वा जातीय संस्थाहरूले बेलैमा ध्यान पुर्याएर उचित मार्गप्रदर्शन गर्न वा सही विकल्प दिँदै जान आवश्यक हुन्छ ।

गाउँमा परापूर्वकालदेखि परम्परागत रुपमा रहेका सावा येत्हाङ चुम्लुङ तथा तुत्तुगेन् तुम्म्याहाङ र याक्लागेन् सुहाङ्मा जस्ता सामाजिक संस्थाहरू दिनानुदिन कमजोर भई प्रायः लोप नै हुने अवस्थामा छन् । साथै, फेदाङ्मा, येबा/येमा र साम्बा लगायतका संस्था र यसका सञ्चालहरू पनि क्रमशः कमजोर र लोप हुने अवस्थामा छन् । यी नेतृत्वहरू र संस्थाहरू लोप हुनु भनेको त्यससँग सम्बद्ध जातिको पहिचान मेटिनु हो । यसका लागि परम्परागत संस्थाका जगमा उभिएका आधुनिक सामाजिक तथा जातीय संघ–संस्थाहरूले बेलैमा ध्यान पुर्याएर उचित अध्ययन, अनुसन्धान गरी सही विकल्पहरू दिँदै जानु नितान्त आवश्यक छ ।

सम्बद्ध जातिले कति सङ्घर्ष गर्दामात्र राज्यबाट पाएको एकदिने सरकारी विदाले उँधौली चासोक् चाडलाई मनाउने आधारभूत वातावरण सिर्जना गर्दैन । आधुनिक पात्रो अनुसार चल्नुपर्दा धानपाके लगत्तै मङ्सिरमा मनाउनु पर्ने चासोक् चाड पुसको जाडोमा पर्दछ । यसले सम्बद्ध जाति र धानको बालीसँगको सम्बद्धलाई संयोजन गर्न सक्दैन । लेक–आउल तथा पहाड र तराईमा धानपाक्ने याम् फरक पर्न जान्छ । गाउँमा त धान पाक्ला शहरमा धानको खेती हुँदैन । तर फेरि पनि मुख्य चाड सबैले एकै समयमा मान्नु पर्नेचाहिँ हुन्छ । यी चुनौतीहरूलाई कसरी सहज गर्ने होला ? त्यसतर्फ पनि हामी सबैको बेलैमा ध्यान जान र उचित समाधान खोज्न आवश्यक देखिन्छ ।

अन्तमा, यो चासोक् चाड साझा धानपर्व पनि भएकोले यसलाई सबै नेपालीहरूले सामूहिक धानवर्पको रुपमा मान्ने वातावरण बनाउन राज्य र सम्बद्ध समुदायबाट पनि पहल हुन आवश्यक देखिन्छ । नेपाल दिनप्रतिदिन धानखेतीबाट पनि आत्मनिर्भर हुननसक्ने अवस्थामा पुग्दैछ । स्वदेशमै वेरोजगारीको समस्यमाका कारण गाउँघदेखि, शहरबजार सबै ठाउँमा उर्जाशील युवायुवती शक्तिहरू विदेशिनु बाध्य छन् । यसप्रति राज्यले सही नीति तय गरी कदम चाल्न सकेको छैन । अरु धेरै कलकारखाना र उद्योगधन्दाहरूको विकास हुननसकेको हाम्रो मुलुकमा कृषिबालीले पनि धान्न नसक्ने अवस्थामा पुग्दा हाम्रो हालत झन जर्जर हुनेछ । यो चासोक् चाडले त्यसप्रति सम्बद्ध सबैपक्षको ध्यानआकृष्ट गर्नसके हुन्थ्यो ।

यो चासोक् चाड लिम्बुजातिको सन्दर्भमा भने धाननाच पर्व पनि हो । धाननाच लिम्बू जातिको कृषिजीवनसँग सम्बद्ध गाथा पनि हो । आधुनिकताको प्रभावले धाननाच पनि लोपहुने अवस्थातर्फ उन्मुख हुँदैछ । चासोक् चाडको अवसरमा धाननाच उत्सवहरू आयोजना गरी यसको अर्थ र महत्वलाई प्रत्यक्षरुपमा बुझ्न र बुझाउनु पनि अहिलेको आवश्यकता हो । धाननाचमा प्रेमी र प्रेमिकाहरूले माया पिरतीको डोरोमा उनिएर सारा जीवन र जगतलाई परिभाषित गरी एउटा जीवनको सार्थक उचाई चोःत्लुङ्मा पुग्न खोजेजस्तो यस चासोक् चाडलाई पनि सबै कोणबाट अर्थ र परिभाषा लगाउँदै हाम्रो समाज र समुदायलाई सही मार्गदर्शन गराउने बाटोतर्फ उन्मुख गराउन आ–आफ्नो ठाउँबाट सबैले कोसिस गर्ने होला । यसका लागि सबैले सामूहिकतामा साझा धाननाच नाच्ने कोसिस गरौं ।

सन्दर्भग्रन्थ सूची :
काइँला, बैरागी । २०५२ । तङ्सिङ तक्मा मुन्धुम् : आख्यान र अनुष्ठान । काठमाडौं : नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान ।

नेम्बाङ, कृष्णविक्रम । २०७२ । ‘टिपनटापन’का ‘थाक्से’ लिम्बूहरू । आक्षेप र पाठक प्रतिक्रिया । लिम्बुवान : भिमकुमारी लिम्बु ।
याक्थुम्बा, मञ्जुल सम्पा., दुर्गा प्र. फोपाहाङ सङ्क. । २०७० । चासोक् थिसोक् मुन्धुम् । मुन्धुम् र मिथकहरू । ललितपुर: मञ्जुल फोम्बो याक्थुम्बा ।
श्रेष्ठ, शिवकुमार । २०५१ । धाननाचको उत्पत्ति । किराँची लोककथा सँगालो । धनकुटाः श्रीमती गंगादेवी श्रेष्ठ ।
Fuller, D.Q. et al. 2010. Consilience of genetics and archeobatoany in the entangled history of rice. UK: Institute of Archeology, University College London
Khush, Gurdev S. 1997. Origin, dispersal, cultivation and variation of rice. Plant Molecular Biology 35:25-34. Belgium: Kuwer Academic Publishers.
Taryo, Obayashi. ? . Rice in Myth and Legend. Magazine Article UNESCO Courier: https://www.questia.com/…/1G1-35406…/rice-in-myth-and-legendAccessed on 22 Dec. 2015

© 2005-2017 pslimboo.com.np | All Rights Reserved