चुम्लुङ, यूएईको आयोजनामा बलिहाङ तङ्नाम बनभोज कार्यक्रम सम्पन्न

किरात याक्थुङ चुम्लुङ, यूएईको आयोजनामा ‘बलिहाङ तङ्नाम ३७९६, बनभोज कार्यक्रम अक्टुबर २०, २०१७ शुक्रबारको दिन दुबईको जाबील पार्कमा यूएईमा रहेका लिम्बू तथा गैर लिम्बू नेपालीहरुको सहभागितामा बलिहाङ तङ्नाम बनभोज, विविध कार्यक्रमहरुकोसाथ सम्पन्न भएको छ |

बनभोजमा कार्यक्रममा सहभागीहरुबीच आपसी परिचयात्मक कार्यक्रमबाट सुरु गरिएको उक्त कार्यक्रममा, लिम्बूहरुको विभिन्न सांस्कृतिक नाचहरु, धाननाच र च्याब्रुङ नाचका साथै प्रतियोगीतात्मक हाजिरीजवाफ, छेलो, हण्डीफोर जस्ता रोमान्चक खेलहरु समेत खेलाइएको थियो भने लारिङ्गेक, नाम्लिङ्गेक पनि खेली रमाईलो गरिएको थियो |

संस्थाका अध्यक्ष मनिष नाल्बो लिम्बूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली चलचित्र निर्देशक किशोर सुब्बा बिशेष अतिथि रहनुभएको थियो भने अतिथिहरुमा नेपाली समाज, यूएईका अध्यक्ष सीपी सापकोटा, नेपाली सोसल क्लब, यूएईका अध्यक्ष सालिक सुवेदी, नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा, उपाध्यक्ष सरोज पङ्हाङ्गो, किरात याक्थुङ चुम्लुङ, यूएईका भुतपूर्व अध्यक्ष पिएस निङ्लेकु, तमू समाज, यूएईका अध्यक्ष उषा तमुस्यो, किरात राई यायोक्खा यूएईका अध्यक्ष हर्कमणि राई, थारु कल्याणकारी सेवा समाजका यूएईका अध्यक्ष किशोर चौधरी, किरात सुनुवार सेवा समाज, यूएईका अध्यक्ष नरबहादुर सुनुवार, संघिय लिम्बूवान समाज, यूएईका कार्यकारी सदस्य लासाङ निङ्लेकु, ताप्लेजुङ सेवा समाज, यूएईका अध्यक्ष डील्ली लिम्बू र महासचिव भवानी माङ्मु, तामाङ समाज, यूएईका प्रतिनिधि लगायत यूएईका क्रियाशील विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो |

धाननाचमा उत्कृष्ट छनौट हुनेहरुमा पुरुष तर्फ चक्र सिङ्गक र महिला तर्फ नरमाया लक्सम | यसै गरी भेषभूसामा पुरुष तर्फ दिपक वनेम र महिला तर्फ सिर्जना लावोती उत्कृष्ट छनौट भएका थिए भने, हण्डीफोर खेलमा सबिता लिम्बू. छेलोमा उदिप ओख्राबो र हाजिरी जवाफमा लासाङ निङलेकु बिजयी भएका थिए | बिजयी प्रतियोगीहरुलाई प्रमाणपत्र र कप वितरण गरिएको थियो |

नेपाली चलचित्र क्षेत्र तथा लिम्बू भाषा, संस्कृति प्रवर्द्धनमा चलचित्र मार्फत योगदान पुर्याउनु भएकोमा उहाको योगदानको कदर गर्दै चलचित्र निर्देशक किशोर सुब्बालाई नेपाल आदिबासी जनजाति महासंघ, यूएई, किरात याक्थुङ चुम्लुङ, यूएई र ताप्लेजुङ सेवा समाज, यूएईले सम्मान गरेको थियो | यसै अवसरमा चुम्लुङ, यूएईका अध्यक्ष मनिष नाल्बो लिम्बूले १२ जना नयाँ सदस्यहरुलाई किरात याक्थुङ चुम्लुङ, यूएईको आजीवन सदस्यता प्रमाण पत्र वितरण गर्नु भएको थियो |