अनिद्रित रात
कविता
–निश्चल ‘पिएस’ निङलेकु
हेर्दाहेर्दै सूर्यदेव क्षितिजसंगै बिलिन भए
साँझको पोखरीमा सारा दृश्य चुर्लुम्म डुब्यो
लोडशेडिङको पालो फेरि आएछ क्यार!
गामभरी बाक्लो अन्धकार छायो
दसगते बनमा जूनकीरीहरु बासबसी सकेछन्- गीत गाएको सुनिन्न।
चुक घोप्टिए झैं निष्पट्ट अँध्यारो छ परिसर।
जति रात छिप्पिदै गयो
छट्पट्टी त्येतिनै बढिरहेछ
ओछ्यानम दायाँ-बायाँ, दायाँ-बायाँ कोल्टे फेर्दै
लामो लामो श्वास लिदै,
मनभित्रको उदविग्नतालाई खोरुङ्वा खोलाको छ्वाङ् छ्वाङ् भेलसंगै बगाउदै
एक झप्को निदाउन खोजिरहेको छु।
तथापि
मनमा अनेक कुराहरु खेलिरहेकाछन्
दिनमा अनि बिगतमा घटेका कृयाकलापहरु
तालिकावद्दरुपमा सिनेमाको पर्दामा झै
दृश्यावलोकन भइरहेछ – अन्तस्तलमा
कतै टा… ढा…. टा…. ढा बाट भुक् … ! भुक्…! भूक….
केवल कुकुरको भुकेको आवाज सुनिन्छ।
अस्ति भर्खर कमेरो छेपेको भित्तामा
टोक्ला चिया किन्दा उपहार परेको पेन्डुलम घडीले
ट्वाङ्! ट्वाङ्! ट्वाङ् गर्दै बिहानको तीन बजेको संकेत दिन्छ।
अंह
निन्द्रादेवीसंग पटक्कै सम्झौता हुन सक्या छैन
लाखौ कोशिस बिफल
ब्यतित कुराहरु नजरभरि
पालै पालो दृश्य १, २, ३ हुदै घुमिरहेछन, घुमिरहेछन ।
ओछ्यानमा कोल्टे फेर्दै
प्रभातको किरण, लाजको लालीसरि
झ्यालबाट खुसुक्क सवारि हुन्छ
अनि
यसोरीनै एकै झप्को ननिदाई एकरात, छट्पटाहटमै अनिद्रित कट्छ ।
-तेह्रथुम
