लोकतन्त्रको विकल्प: सुदृढ र उत्तरदायी लोकतन्त्र

लोकतन्त्र जनताको शासन प्रणाली हो, जसमा नागरिकको सहभागिता, अभिव्यक्ति स्वतन्त्रता, समानता र उत्तरदायित्व प्रमुख तत्वहरू हुन्छन्। तर, लोकतन्त्रको सशक्त कार्यान्वयनका लागि मात्र निर्वाचन गराउनु पर्याप्त हुँदैन। यसको मर्म अनुरूप सुशासन, भ्रष्टाचारमुक्त समाज, जनअपेक्षाअनुरूप शासन प्रणाली र दीर्घकालीन रूपान्तरण आवश्यक छ। लोकतन्त्रलाई बलियो बनाउनका लागि नयाँ सोच, सुधार र राजनीतिक अभ्यासमा सकारात्मक परिवर्तन आवश्यक छ।

सुशासन र उत्तरदायित्वको सवाल

लोकतान्त्रिक प्रणालीको मुख्य आधारभूत पक्ष भनेको सुशासन हो। सुशासन भनेको पारदर्शी, उत्तरदायी र जनउत्तरदायी प्रशासन हो। तर, आज हाम्रो देशमा सुशासनको अभाव देखिन्छ। नीतिहरू राम्रो बनाइए पनि तिनको कार्यान्वयन प्रभावकारी छैन। अनियमितता, भ्रष्टाचार, पक्षपातपूर्ण निर्णयहरू, र कानूनभन्दा शक्तिशाली व्यक्तिहरूको प्रभाव लोकतान्त्रिक मूल्यमान्यतामाथि खतरा बनेको छ।

पुरानै अनुहारहरूसँग किन सीमित रहन्छौं?

हामीले बारम्बार देखेका, परिक्षण गरिसकेका (tried and tested) प्रधानमन्त्री, मन्त्रीहरूलाई पटक–पटक अवसर दिनु लोकतन्त्रको स्वस्थ अभ्यास होइन। विश्वका धेरै मुलुकहरूमा एक जना नेताले एक निश्चित अवधिभन्दा बढी शासन गर्न पाउँदैनन्। तर हाम्रो देशमा सत्तामा रहिसकेका नेताहरू फेरि-फेरि शासन गर्ने अवसर पाइरहेका छन्, जसका कारण नयाँ सोच, नयाँ दृष्टिकोण, र नवप्रवर्तनशील (innovative) नेतृत्वको अभाव खट्किरहेको छ।

यो परिपाटीलाई निरुत्साहित गर्नका लागि नीति निर्माणको आवश्यकता छ। एक व्यक्तिले धेरैपटक मन्त्री वा प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरिनुपर्छ, ताकि नयाँ पुस्ताका सक्षम नेताहरूलाई अगाडि आउन अवसर मिलोस्। लोकतन्त्रमा सबैलाई अवसर दिने सिद्धान्तअनुरूप राजनीतिक नेतृत्वमा नयाँ सोच राख्न सक्ने युवाहरूको समावेश हुन जरुरी छ।

राजनीतिक दल मात्र होइन, नागरिक पनि सचेत हुनुपर्छ

लोकतन्त्रको सुदृढीकरणको जिम्मेवारी नेताहरू मात्रै होइन, जनताले पनि लिनुपर्छ।

१. चुनावमा सचेत भई मतदान गर्ने प्रवृत्ति अपनाऔं – योग्यता, इमानदारी र जनताप्रति उत्तरदायी नेताहरूलाई चुन्ने बानी बसालौं।
2. भ्रष्टाचारविरुद्ध आवाज उठाऔं – भ्रष्टाचारमुक्त समाजको निर्माणका लागि नागरिक स्तरबाट नै पहलकदमी आवश्यक छ।
3. राजनीतिक संस्कार सुधारौं – व्यक्तिगत स्वार्थभन्दा राष्ट्रहितलाई प्राथमिकता दिने नेतृत्वलाई समर्थन गरौं।
4. सक्षम नेतृत्वलाई प्रवर्द्धन गरौं – सधैं उही अनुहारलाई हेर्नुभन्दा नयाँ पुस्ताका दक्ष नेताहरूलाई अवसर दिऔं।

निष्कर्ष

लोकतन्त्रको विकल्प खोज्नुको साटो लोकतन्त्रलाई अझ सुदृढ र प्रभावकारी बनाउने उपाय खोज्नुपर्छ। सुशासन, भ्रष्टाचारमुक्त समाज र उत्तरदायी सरकार लोकतन्त्रको मूल आत्मा हो। बारम्बार परीक्षण भइसकेका नेताहरूलाई निरन्तर सत्तामा राख्नु भन्दा नयाँ र सक्षम नेतृत्वलाई अघि ल्याउने नीति निर्माण गर्नुपर्छ।

हामी सबैले सचेत नागरिकको भूमिका निभाउँदै, जिम्मेवार राजनीतिक दलहरू निर्माण गर्दै, र सुशासनमा जोड दिँदै मात्र लोकतन्त्रलाई बलियो बनाउन सक्छौं। लोकतन्त्र कमजोर होइन, हाम्रो सोच र कार्यशैली कमजोर छ। त्यसलाई सुधार्न आवश्यक छ!