सत्यका यात्रु: सुरक्ष्या पन्त र स्वतन्त्र अभिव्यक्तिको सन्देश
आजको सामाजिक परिवेशमा एउटा सूक्ष्म तर गम्भीर विकृति मौलाउँदै गएको छ — विचार र अभिव्यक्तिलाई स्वार्थ र अनुकूलताको शृङ्खलामा बाँध्ने प्रयास। सार्वजनिक जीवनमा आफ्नै सुविधाको ऐनामा मात्रै सत्यलाई हेर्ने प्रवृत्ति बढ्दो छ। यस्तै चुनौतीपूर्ण समयको बीचमा, अभिनेत्री सुरक्षा पन्तले कुनै डर वा सम्झौता नगरी सत्यको उज्यालो बोकेर आफ्ना विचारहरू निडर रूपमा व्यक्त गरेकी छन्।
सुरक्षा पन्त कुनै प्रतिध्वनि होइनन् — उनी आफ्नै आत्माको स्पष्ट, प्रखर स्वर हुन्। आफ्ना समय, अनुभव र मूल्यहरूको आत्मीय साक्षी बनेर उनले बोलेकी छन्। सत्यलाई स्पर्श गर्नु भनेको घमण्डी अनुहारहरूलाई असहज बनाउनु हो, अभिमानका पर्खालहरू भत्काउनु हो। तर सत्यको उज्यालो यति प्रखर हुन्छ कि त्यसलाई दबाउन खोज्दा झन् चिटिक्क बल्छ।
असहमति व्यक्त गर्नु अपराध होइन; बरु, सधैं मौन रहनु नै चेतनाको पराजय हो। जब सुरक्षाले भीडका बीच "सब ठिक छैन" भनेर आवाज उठाइन्, सामाजिक सञ्जालमा विष र तुषको वर्षा भयो। ती आक्रोश र बदख्वाइँहरू घाइते अहंकारका विषबेलाहरू थिए — तर सत्यका ती निर्भीक मुस्कानहरूलाई कुनै आँधीले उडाउन सकेन।
बोलीका तीरा र छिराहरूले सत्यको प्रकाशलाई मलिन बनाउन सक्दैनन्। बरु, यस्ता प्रतिक्रियाले स्वतन्त्र सोचको महत्वलाई झन् सशक्त बनाउँछ। विवेक र सहिष्णुताका बीजहरू यस्तै परिस्थितिमा मौलाउँछन् र गहिरो जरासहित पलाउँछन्।
सुरक्षाले हामीलाई एउटा महत्वपूर्ण कुरा सम्झाइन् — सहमति मात्र होइन, असहमतिको अभिव्यक्ति पनि संवादको सुन्दर रूप हो। परिवर्तनका बिरुवाहरू सधैं असहज माटोमा उम्रिन्छन्, र ती बिरुवालाई हुर्काउने हातहरू इतिहासका अमिट चिन्ह बन्छन्।
यतिबेला सुरक्षाका चलचित्रहरू बहिष्कार गर्ने अभियानहरू संकुचित मानसिकताको उपज बनेका छन्। एक चलचित्र कुनै एक व्यक्तिको मात्र श्रम होइन — त्यो सयौं सपना, हजारौं पसिना र लाखौं आशाहरूको परिणाम हो। निर्माता, कलाकार, प्राविधिक, सिनेमा हल सञ्चालक र तिनका परिवारहरूको जीविकासँग गाँसिएको एउटा सानो संसार हो सिनेमा।
व्यक्तिगत असहमति तपाईंको अधिकार हो — तर त्यसका आधारमा चलचित्र बहिष्कारको आह्वान गर्नु भनेको रिसले सृष्टि नै जलाउने प्रयासजस्तै हो। यसरी सिर्जनशीलताको मेरुदण्डमा चोट पुर्याउनु हामी आफैंका लागि आत्मघाती हुन्छ।
हामीलाई बुझ्न जरुरी छ — चलचित्रहरू केवल क्षणिक मनोरञ्जन होइनन्; तिनीहरू जीवनका सपनाहरूका धड्कनहरू हुन्। अस्वीकृति वा असहमति व्यक्त गर्दा पनि विवेक र संवेदनशीलताको साथ सोच्न आवश्यक छ — नत्र हामी आफ्नै सिर्जनात्मकता नष्ट गर्ने बाटोमा उत्रन्छौं।
आज, सुरक्षा पन्तजस्ता सत्यका निडर यात्रुहरू हाम्रो समाजका उज्याला पथप्रदर्शक हुन्। तिनीहरूलाई हाम्रो हृदयभरिको स्नेह, सम्मान र वन्दना। सत्यका ती दीयोहरू सधैँ बलिरहून्, र हामीले पनि उनीहरूबाट प्रेरणा लिएर सत्य, स्वतन्त्रता र विवेकका पक्षमा उभिन सकून्।
