च्याब्रुङ प्रसंगमा सांस्कृतिक संवेदीता: आलोचनाभन्दा शिक्षा र सम्मान आवश्यक

सारांश

नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो, जहाँ हरेक जाति, भाषा र परम्पराले राष्ट्रिय एकताको बुनियाद निर्माण गर्छ। हालै नेकाका महामन्त्री गगन थापाले याक्थुङ लिम्बू समुदायको परम्परागत बाजा च्याब्रुङ बजाउने क्रममा गरेको त्रुटिपूर्ण प्रयासलाई लिएर भएको सामाजिक आलोचनाले हाम्रो समाजमा सांस्कृतिक शिक्षाको अभाव र संवेदीताको आवश्यकता प्रस्ट पारेको छ। यो लेखमा त्यस घटनालाई आलोचना होइन, शिक्षाको अवसरका रूपमा विश्लेषण गर्दै, बहुसांस्कृतिक समाजमा आपसी समझदारी, सहिष्णुता र संस्थागत सांस्कृतिक ज्ञानको आवश्यकता औंल्याइएको छ।

१. प्रस्तावना

नेपालको सांस्कृतिक विविधता यसको पहिचान र गौरव हो। कुनै जातीय समूहको संस्कृति, परम्परा वा धार्मिक अभ्यास अरूले सम्मानपूर्वक आत्मसात गर्ने प्रयासलाई गल्तीको चस्माबाट होइन, अवसरका रूपमा बुझिनु आवश्यक छ। खासगरी सार्वजनिक व्यक्तित्वहरूबाट यस्ता प्रयासहरू हुनुले परस्पर सम्मान र सहकार्यको वातावरण निर्माणमा योगदान पुर्‍याउन सक्छ। यस्ता प्रयासमा भएका त्रुटिहरूलाई शिक्षा र मार्गदर्शनमार्फत सुधार गर्नु हाम्रो जिम्मेवारी हो।

२. घटनाको पृष्ठभूमि

एक सार्वजनिक कार्यक्रममा महामन्त्री गगन थापाले लिम्बू समुदायको परम्परागत बाजा च्याब्रुङ बजाउने प्रयास गरे। तर उनले उक्त बाजा, च्याब्रुङ बजाउन नजानेको, उल्टो ढङ्गले भिरेको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना भयो। आलोचकहरूले सांस्कृतिक अपमानको रूपमा लिएका उक्त घटना वास्तवमा थापाले दिएको सांस्कृतिक सम्मानको संकेत पनि हुन सक्दछ। यदि यस्तो प्रयास अनादर नभई सम्मानका भावनाबाट प्रेरित हो भने त्यसलाई सुधार्ने प्रक्रिया शिक्षा र संवादबाट सुरु हुनुपर्छ।

३. सांस्कृतिक समझदारीको आवश्यकता

नेपालको बहुसांस्कृतिक संरचनामा सबैलाई सबै समुदायको परम्परा र अभ्यास थाहा हुनु स्वाभाविक छैन। त्यसैले जब कोही व्यक्तिले अनजानेमा गल्ती गर्छन्, विशेषगरी सम्मानका साथ, त्यो आलोचनाको होइन, संवादको विषय हुनुपर्छ। च्याब्रुङ जस्तो परम्परागत बाजा बजाउन विशेष विधि आवश्यक हुन्छ, जुन समुदाय विशेषको मौखिक परम्पराबाट हस्तान्तरण हुन्छ। यस्तो ज्ञानलाई साझा र संस्थागत गर्नुपर्ने खाँचो आजको यथार्थ हो।

४. सामाजिक संवेदीता र सांस्कृतिक शिक्षा

नेपालमा सांस्कृतिक ज्ञान अझै पनि धेरै हदसम्म मौखिक परम्परामा आधारित छ। च्याब्रुङजस्ता परम्परागत अभ्यासहरूलाई विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्ने, सामाजिक संजाल तथा सञ्चारमाध्यममार्फत जनचेतना अभिवृद्धि गर्ने, र सांस्कृतिक अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने आवश्यक छ। महामन्त्री थापाको उल्टो च्याब्रुङ भिराईले सांस्कृतिक चेतनामाथि नयाँ बहस खडा गरिदिएको छ, जुन शिक्षामूलक दृष्टिकोणबाट बहस गर्न सकिने अवसर हो।

५. निष्कर्ष

महामन्त्री थापाले च्याब्रुङ बजाउने प्रयास कुनै अनादर होइन, सांस्कृतिक सम्मान प्रकट गर्ने प्रयास थियो। त्यसमा देखिएको त्रुटिलाई आलोचना होइन, शिक्षा र सुधारको दृष्टिले हेरिनु पर्ने जस्तो लाग्छ। नेपालको विविधतायुक्त समाजमा यस्तो प्रयासले परस्पर समझदारीको ढोका खोल्न सक्छ, यदि हामीले आलोचनाबाट बढी संवाद र मार्गदर्शनलाई प्राथमिकता दिन सक्यौं भने।

'बाह्र वर्षमा खोला पनि फर्कन्छ' भन्ने भनाइ जस्तै, राजनीति र सामाजिक सोचमा पनि सकारात्मक परिवर्तन सम्भव छ। यसैले म (लेखक) नकारात्मकता भित्र लुकेको सकारात्मकता देख्न र त्यसलाई उजागर गर्न निरन्तर प्रयासरत छु।

६. सिफारिसहरू

  • सांस्कृतिक अभिमुखीकरण कार्यक्रमहरू स्थानीय सरकार, संघ-संस्थाहरू र शैक्षिक निकायहरूद्वारा सञ्चालन गरिनुपर्छ, जसले गैर-जातीय समुदायहरूलाई अरू संस्कृतिबारे जानकारी दिन सकोस्।

  • सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरू ले आलोचना होइन, जानकारीमूलक संवाद र सांस्कृतिक शिक्षालाई प्रोत्साहन गर्नुपर्छ।

  • शिक्षा प्रणालीमा समावेशी पाठ्यक्रम तयार पार्नुपर्छ, जसले सबै जातीय, भाषिक र सांस्कृतिक अभ्यासहरूलाई प्रतिनिधित्व गरोस्।

  • सार्वजनिक व्यक्तिहरूका लागि सांस्कृतिक प्रशिक्षण अनिवार्य गर्नुपर्छ, विशेषतः उनीहरूलाई अन्य समुदायको सांस्कृतिक समारोहमा सहभागी गराउने हो भने।

निश्चल पिएस निङलेकु


महामन्त्री थापाले च्याब्रुङ बजाउने प्रयास गरेका लिङ्क